२०८३ साउन ९ शनिबार

२१ औँ विश्वकप आजदेखि : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

ई आर्थिक    बिहिबार, जेष्ठ ३१ २०७५
3.5K
Shares
२१ औँ विश्वकप आजदेखि : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

३१ जेठ २०७५, मस्को : विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन्।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्। उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन्। तीमध्ये युरोपेली फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडी ५ सय ४४ जना छन्। यो कुल खेलाडी संख्याको ७४ प्रतिशत हो।

बेलायती फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने १ सय ३२ जना खेलाडी आ–आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुँदैछन्। विश्वकप २१औं संस्करणमा आइपुग्दा जम्मा ८ देशले मात्र उपाधि जितेका छन्। ती देशमध्ये सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ल्यान्डलाई उपाधिको प्रमुख दावेदार मानिएको छ।

विश्वकपको उपाधि होडसँगै पुरस्कार राशिको चर्चा समेत चुलिएको छ। कुल पुरस्कार राशि ४० करोड अमेरिकी डलरमध्ये विश्वकप विजेताले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ। यो पुरस्कार राशि ४ वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणभन्दा १२ प्रतिशत बढी हो। उपविजेताले २ करोड ८० लाख अमेरिकी डलर हात पार्नेछ।

तेस्रो हुने टोलीले २ करोड ४० लाख र चौथो हुनेले २ करोड २० लाख अमेरिकी डलर पाउनेछन्। क्वार्टरफाइनल अर्थात् अन्तिम ८ मा पराजित हुने ४ टोली प्रत्येकले १ करोड ६० लाख डलर, अन्तिम १६ मा पराजित हुने ८ टोली प्रत्येकले १ करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०/८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि तयारीका लागि पाउने रकमसमेत जोडिएको छ।

आगामी विश्वकप रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ। प्रतियोगितामा सहभागी हुन ३२ वटै टोलीका खेलाडी र खेल पदाधिकारी रसिया पुगिसकेका छन्। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका पाहुना र पूर्वखेलाडी पनि रसिया पुग्ने क्रम जारी छ। ब्राजिलका पूर्वखेलाडी पेले बिरामी भएकाले यसपटक विश्वकपमा उपस्थित नहुने भएका छन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुनेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij