काठमाडौं । सुन काण्डका बहुचर्चित फरार अभियुक्त एसएसपी श्याम खत्रीले मोरङ अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् ।
उनी करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी रहेका थिए ।
फरार एसएसपी खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । एसएसपी खत्रीको बयानसँगै सुन तस्करी प्रकरणको माथिल्लो कनेक्सन खुल्ने चौतर्फी अपेक्षा गरिएको छ ।
प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदा देखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । फरार एसएसपी खत्रीसँग सेटिङ मिलाउने कार्य भने छिरिङ वालेङ घले भएको गोरेले बयान दिएका थिए ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको उच्च स्थानमा रहेको छ । खत्रीले गोरेसँग पटक–पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो । तस्करीमा संलग्न अन्य अभियुक्तले पनि खत्रीको नाम लिएका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।
प्रहरी र सुन काण्ड छानविन गर्नका लागि सरकारद्वारा गठित गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले खत्री लगायत फरार रहेकाहरुको खोजी गरिरहेको थियो ।
घटनाका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले खत्री पक्राउ परेपछि सुन तस्करीका बारेमा सबै कुरा खुल्ने बयान अदालतमा बयान दिइसकेका छन् ।
खत्रीको यो आत्मसमर्पणसँगै बयानमा सुन काण्डको थप खुलासा आउने चौतर्फी अपेक्षा रहेको छ । पुर्पक्षका लागि कारागार चलान भइसकेका गोरेले खत्रीलाई पक्राउ गरेर बयान लिंदा सुनका मालिक देखि लिएर गिरोहसम्मका बारेमा जानकारी हुने बयान दिएका थिए ।
सुन तस्करीमा संलग्नले प्रहरीसँग सेटिङ मिलाउने सबैजिम्मा खत्रीलाई दिएका छानविन समितिका एक सदस्यले जानकारी दिए ।
यसैबीच अदालतमा हाजिर भएका खत्रीसँग जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान लिन सुरु गरिएको निमित्त स्रेस्तेदार गौतमले बताए ।
खत्रीसँग बन्द इजलासमा बयान लिने काम सुरु गरिए पनि बयान लिन कति समय लाग्छ भन्ने बारेमा यकिन भइसकेको छैन । सुन तस्करी र सनम हत्या काण्डमा एसएसपी खत्रीसहित ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई अपराधिक समुह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत वैशाख १९ गते मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकाहरु मध्ये अधिकांश सबैको बयान लिइसकिएको छ ।