२०८३ साउन १२ मंगलबार

३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका मालिक शाक्य पनि छानविनको दायरामा, नेपाल एयरलाइन्सका लोडर चौधरीद्वारा प्रहरी हिरासतमै आत्महत्या

ई आर्थिक    शुक्रबार, चैत्र ३० २०७४
3.2K
Shares
३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका मालिक शाक्य पनि छानविनको दायरामा, नेपाल एयरलाइन्सका लोडर चौधरीद्वारा प्रहरी हिरासतमै आत्महत्या

शुक्रबार, ३० चैत २०७४, काठमाडौं – ३३ किलो सुन प्रकरणको थप रहस्य खुल्न थालेको छ । अनुसन्धानको क्रममा न्यूरोडका एक व्यवसायी पनि अनुसन्धानको दायरामा परेका छन् । प्रहरीले न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यलाई बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरी यसको वारेमा थप अनुसन्धान थालेको हो । गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरेको हो ।

डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको दायरामा राखेको छ ।

यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन् । गृह मन्त्रालयले छानविनका लागि सहसचिव ईश्वर पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेर अनुसन्धान तथा छानविन भइरहेको छ ।

नेपाल एयरलाइन्सका लोडर चौधरीद्वारा प्रहरी हिरासतमै आत्महत्या

यसैबीच तस्करीको ३३ किलो सुन गायव पछि भरिया सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

सनमको हत्याको छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिहदरबारमा थुनामा राखिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले आत्महत्या गरेका हुन् ।

बिहीबार प्रहरी थुनामा रहेका चौधरीले लगाएको सुरुवालले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको प्रहरी स्रोतले जानकारी दियो । सनम हत्याको पोल खुल्ने डरले उनले आत्महत्या गरेको आशंका प्रहरीको छ । चौधरीको शव पोष्टमोर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij