२०८३ साउन ९ शनिबार

कर्जा अपचलन : कुमारीसँग मर्जर नभएपछि एनसीसीको हतारो

ई आर्थिक    आइतबार, चैत्र ४ २०७४
2.5K
Shares
कर्जा अपचलन : कुमारीसँग मर्जर नभएपछि एनसीसीको हतारो

मेनुका कार्की, आइतवार, चैत ४, २०७४, काठमाडौं : कुमारी बैंकसँग मर्जर तोडिएपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले हतारमा मर्जरमा जाँदा एपेक्समा भएका कतिपय अनियमितता छाँयामा परे। त्यसको पछिल्लो उदाहरण हो एनसीसी बैंकमा भएको डेढ अर्बको कर्जा घोटाला।

एपेक्स डेभलपमेन्ट बैंकले एनसीसीलाई मर्जरमै झुक्याएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्। एपेक्सले मर्जर गर्ने सम्झौतापछि कमसल धितोमा अर्बौँ कर्जा प्रवाह गरेर एनसीसीलाई विश्वासघात गरेको हो।

एनसीसी र एपेक्सबीच २०७२ मंसिरमा मर्जर सम्झौता भएको थियो। त्यसपछि एपेक्सले अब मर्जरमा जाने हो यसको दायित्व सबै एनसीसीले व्यहोर्छ भन्दै कर्जा प्रवाह गरेको निरीक्षणको क्रममा पाइएको राष्ट्र बैंकका डेपुडी गर्भनर चिन्तामणि शिवाकोटीले बताए। उनले भने, ‘बिना धितो र धितोले नथेग्ने ठाउँमा पनि एकै दिन सबै प्रक्रिया सकेर कर्जा प्रवाह भएको छ।’

मर्जर सम्झौता भएको एक वर्षपछि २०७३ पुस १७ गतेबाट एनसीसी र एपेक्सबीच एकीकृत कारोबार सुरु भयो। प्रतिसेयर ४८ रुपैयाँका हिसाबले एपेक्स एनसीसीसँग मर्जर भएको हो। एकीकृत कारोबार नगरुञ्जेल उसले प्रवाह गरेको खराब कर्जाको जानकारी एनसीसीलाई दिइएन।

नेपाल प्रहरीको अनुसन्धान व्युरोको छापाले वित्तीय सूचकांकमा कुनै असर नपर्ने राष्ट्र बैंकले जनाएको छ। अपचलन भएको सबै कर्जाको ‘लोन लस प्रोभिजन’ व्यवस्थापन भइसकेको राष्ट्र बैंकका डेपुडी गर्भनर शिवाकोटीले बताए। ‘अहिलेसम्म बैंकलाई घाटा हुने, अप्ठ्यारो पर्ने, असर सबै भइसक्यो। अब डुबेको कर्जा उठ्न सक्यो भने बैंक अझ मजबुद र बलियो बन्छ। हामीले बैंकलाई प्रोभिजन गर्न लगाएर आम सर्वसाधरणको निक्षेप तथा सेयरमा गरेको लगानीलाई सुरक्षित गर्ने बाटो अपनाएका छौं’, उनले भने, ‘तरलता तथा कर्जा प्रवाहमा कुनै किसिमका समस्या आउँदैन’, अहिलको घट्नाले बैंकिङ कारोबारमा असर पार्दैन।’

एपेक्सले १४ ठूला कर्जामा अर्ब रुपैयाँभन्दा बढी प्रवाह गरेको पाइएको छ। यस्तो कर्जामा एकै दिन धितोको निरीक्षणदेखि ऋण स्वीकृतीसम्मका प्रक्रिया भएका छन्। ‘एनसीसीले पनि विश्वास गरेर खोजिनीति गरेन, मर्जरपछिको एकीकृत कारोबार पछिमात्र कर्जा अपचलन भएका कुरा खुल्न आयो’, डेपुडी गर्भनर शिवाकोटीले भने,‘त्यसपछि अनियमिततालाई मिलाउ एनसीसीलार्ई प्रोभिजन गरायौं।’ बैंकले साढे एक अर्बभन्दा बढीको प्रोभिजनिङ गर्‍यो। बैंकमा अहिले भइरहेको पैसा लगेर प्रोभिजनिङ गर्दा मुनाफा बाँड्न सकेन। मुनाफाको वोनस सेयर बाँड्ने बैंकको योजना थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले शुक्रबार तत्कालीन एपेक्सका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेपछि उसले गरेको अनियमितताको विषय बाहिर आएको हो। सीआईबीका अनुसार एपेक्सको एक सय २८ वटा धितो फाइल अनुसन्धान गर्दा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार नौ सय ८४ रुपैयाँ नोक्सानी पु‍गेको देखिएको छ।

एपेक्ससँग मर्जर हुँदा एनसीसी बैंकको खराब कर्जा ८.६४ प्रतिशत थियो। अहिले बैंकको खराब कर्जा ४.०४ प्रतिशतमा झारिसकेको छ।

बैंकको चुक्ता पुँजी चार अर्ब ६७ करोड छ। चुक्ता पुँजी आठ अर्ब पुर्‍याउन बैंकले वोसन सेयर निष्कासन गर्न नपाएपछि हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेको छ। पुँजी पुर्‍याउन २ः१ हकप्रद सेयर जारी गर्दैछ। हकप्रद सेयर जारी गरेपछि त्यहाँका सञ्चालकबीच विवाद भयो। त्यसपछि यो घोटला बाहिर आएको हो।

राष्ट्र बैंकका अनुसार एपेक्समा २०७० अघि नै मर्चेन्ट बैंकहरू एपेक्समा मर्ज हुँदादेखिनै खराब कर्जा थिए। मर्जरसँगै त्यो कर्जा एपेक्समा आएको थियो। यसका साथै एपेक्सले पनि थुप्रै अनियमितता गरेको राष्ट्र बैंकको अहिलेको निरीक्षणले भेटाएको हो।

एपेक्सले तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीसमेत नराखी कर्जा दिएको पाइएको छ। सीआईबीले पक्राउ गरेका एपेक्सका कर्मचारीमाथि चार तहमा अनुसन्धान एवं कारबाही अगाडि बढाएको छ। ओलियाका अनुसार मुख्य कसुरदार, मतियार, सहायक मतियार र मूल्यांकन कर्ता छुट्टयाएर कसुरका आधारमा अदालतमा मुद्दा दर्ता गर्नेछ।

एपेक्सले व्यक्तिगत, हाउजिङ व्यवसायी, निजी कम्पनीको नाममा ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ। डीएसपी ओलियाले भने, ‘यो घटनामा ऋण प्रवाह गर्ने मात्रै दोषी नभएर ऋणीसमेत कारबाही दायरामा तानिनेछन्।’ मर्जर सम्झौतापछि पनि एपेक्सले कर्जा प्रवाह गरेको देखिएको छ। सुनियोजित ढंगले बदनियत राखेर नक्कली ऋणीलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij