२०८३ साउन ९ शनिबार

सातै प्रदेशका उपसभामुख महिला, संघीय संसदमा ३४ प्रतिशत महिला

ई आर्थिक    सोमबार, फाल्गुन ७ २०७४
3.1K
Shares
सातै प्रदेशका उपसभामुख महिला, संघीय संसदमा ३४ प्रतिशत महिला
फाल्गुन ७, २०७४, काठमाडौँ — प्रदेश ४, ५ र ७ मा आइतबार निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै चयन भएका उपसभामुख पनि महिला नै हुन् ।

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको लक्ष्यमा लैजान भूमिका खेल्नेछु ।’ उनले संविधानले महिलालाई दिएका अधिकार व्यवहारमा कार्यान्वयन गर्नआफ्नो सबैभन्दा ठूलो प्रयास रहने प्रतिक्रिया दिइन् । उनलाई आइतबार नै सभामुख नेत्रनाथ अधिकारीले शपथग्रहण गराए । २००९ सालमा धरानमा जन्मिएकी उनी २०२६ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । उनी अनेमसंघको पोखरा नगर कमिटी, कास्की अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव भएकी हुन् ।

प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी बर्दियाकी ४२ वर्षीया कृष्णी थारू निर्वाचित भइन् । राजापुर नगरपालिका–४ बर्दियाकी थारूलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो । करिब १७ वर्ष कमलरी र बुक्रेनी बनेकी बर्दिया राजापुर–४ संघर्षनगरकी उनको ८ वर्ष कमलरी बस्दाबस्दै १५ वर्षको उमेरमा विवाह भयो । श्रीमान् पनि कमैया थिए । ‘कमैया बस्दा म बुक्रेनी (पतिसँगै घरेलु कामदार) भएर काम गरेँ,’ उनले भनिन्, ‘साहुले नपढाउँदा विद्यालय जान पाइनँ ।’ ‘मैले कमलरी बस्दा एक रुपैयाँ पनि पाइनँ,’ उनले भनिन्, ‘गरिबीका कारण अब कसैले पनि अर्काको घरमा बन्धक भएर काम गर्न नपरोस् ।’
प्रदेश ७ को उपसभामुखमा निर्मला बडाल जोशी निर्वाचित भएकी छन् । उनी दार्चुलाबाट माओवादी केन्द्रको समानुपातिक प्रदेशसभा सदस्य हुन् । पूर्वलडाकु जोशी माओवादी प्रदेश ७ का संयोजक एवं पूर्वसांसद लक्ष्मण जोशीकी पत्नी हुन् । माध्यमिक तह पढ्दै गर्दा उनी माओवादीमा लागेकी थिइन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै उपसभामुख चुनिइसकेका छन् । प्रदेश १ को उपसभामुखमा सरस्वती पोखरेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएकी थिइन् । सुनसरीकी पोखरेल २०३२ सालमा प्यूठानमा जन्मिएकी हुन् ।
२०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर छिन् । २०५४ सालमा एमाले विभाजनपछि माले पार्टीमा काम गरेकी पोखरेल २०५८ देखि माओवादी ‘जनयुद्ध’ मा लागेकी थिइन् । हाल उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्ला संयोजक हुन् । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।
प्रदेश २ मा उपसभामुख बनेकी सप्तरीकी उपमा देव सामान्य पारिवारिक पृष्ठभूमिकी हुन् । उनी समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य भएकी हुन् । भारत, बिहारको फारबिसगन्ज माइती भएकी देव सन् १९९२ मा बिहेपछि नेपाली नागरिक भएकी थिइन् । स्नातक गरेकी देवले ८ वर्षअघि संघीय समाजवादी फोरम नेपाल प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
प्रदेश ३ की उपसभामुखमा नुवाकोटकी राधिका तामाङ २०५४ मा तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आबद्ध थिइन् । उनी २०६१ सालमा जिल्ला ‘जनसरकार’ प्रमुख भइन् । २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सांसद थिइन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । प्रदेश ६ की उपसभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट निर्विरोध भएकी हुन् । उनी समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी हुन् । माओवादी पार्टी पोलिटब्युरो सदस्य घर्ती चौकुने गाउँपालिका–१० घाटगाउँमा २०३४ सालमा जन्मेकी हुन् । उनी एसएलसी दिएर माओवादी युद्धमा लागेकी थिइन् । उनी पूर्वसांसद नरबहादुर बिष्टकी पत्नी हुन् । कान्तिपुरबाट

संघीय संसदमा ३४ प्रतिशत महिला

भाषा शर्मा, सोमबार, ०७ फागुन २०७४, काठमाडौं – संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसदमा १ सय १२ जना महिलाको प्रतिनिधित्व हुने भएको छ ।
संघीय संसदमा राष्ट्रियसभाबाट ५९ जना, प्रतिनिधिसभातर्फबाट २ सय ७५ गरी ३ सय ३४ सदस्य छन् । त्यसमध्ये १ सय १२ जना महिला निर्वाचित भएका छन् ।सबैभन्दा धेरै एमालेबाट ५० जना छन् । प्रतिनिधिसभामा समानुपातिकबाट ३७, राष्ट्रियसभामा २२ जना र प्रत्यक्षबाट २ गरी एमालेबाट महिला संघीय संसद्मा आएका छन् ।

नेपाली कांग्रेसबाट संघीय संसदमा २६ जना महिलाको उपस्थिति  छ । प्रतिनिधिसभामा २०, राष्ट्रियसभामा ६ जना महिला संघीय संसदमा आएका छन् ।माओवादी केन्द्रबाट २२ जना महिला रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट ३, समानुपातिकबाट १६ र राष्ट्रियसभामा ३ जना महिलाले संघीय संसद्मा प्रतिनिधित्व गरेका छन् ।त्यसैगरी संघीय समाजवादी फोरम नेपालका  प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा १ गरी ६ जना महिला छन् ।

राष्ट्रिय जनता पार्टीबाट ६ जना महिलाको उपस्थिति छ । राष्ट्रिय जनमोर्चाबाट १ जना महिलाको प्रतिनिधित्व छ । राष्ट्रियसभाका लागि एकजना महिला सरकारले मनोनीत गर्ने भएको छ ।
निर्वाचनमा ठूला दलले प्रत्यक्षतर्फ महिला एकदमै कम उठाएका थिए । साना अस्तित्वमा नभएका दल, स्वतन्त्र र जित्न नसक्ने स्थानबाट महिला उम्मेदवार बनेका थिए । एमालेले २, माओवादी केन्द्र ३ र राष्ट्रिय जनमोर्चाबाट १ गरी ६ जना महिला प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट विजयी भएका छन् ।

यसअघिको चुनावमा महिलाको अवस्था
पहिलो संविधानसभा २०६४ सालमा भएको आमचुनावमा प्रत्यक्ष चुनाव, समानुपातिक र मनोनीत गरी ६ सय १ जना सांसद थिए ।संविधानसभामा २९ जना महिलाले जितेका थिए । माओवादीबाट २३ जना, कांग्रेसबाट २ जना, एमालेबाट १ जना, मधेसी जनअधिकार फोरबाट २ जना, तराईमधेश लोकतान्त्रिक पार्टीबाट १ जना गरी २९ जना प्रत्यक्ष तर्फबाट विजयी भएका थिए । संविधानसभामा एक सय ९१ जना महिला सभासद् थिए । जुन कुल सभासद् संख्याको ३३.३ प्रतिशत हो ।

२०७० सालमा भएको दोस्रो संविधानसभा पनि ६ सय १ जना सांसद चुनिए । त्यसमध्ये एक सय ७२ जना महिला सभासद्को उपस्थिति थियो । सिट संख्याका आधारमा यो अघिल्लोपटक भन्दा कम हो ।
दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट ६ जना, एमालेबाट ३ जना र एनेकपा माओवादीबाट १ गरी जम्मा १० जना महिलाले प्रत्यक्ष तर्फबाट चुनाव जितेका थिए । प्रतिशतका आधारमा अघिल्लो संविधानसभामा २९.९ प्रतिशत महिला सांसद  थिए । नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij