लण्डन (बेलायत) । महिला कर्मचारीहरूको बाहूल्य रहेको कार्यालयमा काम गर्ने वातावरण/समय धेरै नै लचिलो हुन्छ भन्ने हाम्रो सोचाइ छ । तर, पुरुषभन्दा महिला धेरै भएका कार्यालयमा कार्य व्यवस्थापनमा कम लचकता पाइएको छ । एक अध्ययनले लचिलो समय दिने मामिलामा पुरुष र महिलाको उपस्थिति बराबरजस्तो भएको कार्यालय अगाडि रहेको देखाएको छ । यसले लचिलो काम गर्ने वातावरणमा पुरुषको तुलनामा महिलाको पहँुच बढी हुन्छ भन्ने मान्यतालाई गलत ठहर्याएको बेलायतस्थित युनिभर्सिटी अफ केण्टका अनुसन्धाता हिजुङ चुङले बताएका छन् ।
महिलाको बाहुल्य भएको कार्यालय वा क्षेत्रले लचिलो कार्यतालिकामा महिला र पुरुष दुवैको पहुँचमा नियन्त्रण गर्ने अध्ययनले बताएको छ । त्यसैगरी, परिवारमा अप्ठ्यारो परेको बेलामा सजिलै बिदा दिनेलगायत सुविधा त दिइएको छ नि भनेर तलब पनि थोरै दिने गरेको पाइएको छ । त्यस्तो कार्यालयमा तलब न्यून हुने मात्रै होइन, काम गर्ने वातावरणसमेत खराब हुने अनुसन्धानले पुष्टि गरेको ।
लचिलो कार्यतालिकाको खाँचो सबैभन्दा बढी महिलालाई नै हुन्छ । यस अध्ययनले जसलाई धेरै खाँचो छ तिनीहरूले कार्यालयमा आफूलाई सुविधा हुने समयमा काम गर्न पाइरहेका रहेन छन् भनेर नीतिनिर्माताहरूलाई पनि झक्झक्याउन सक्छ । यूरोपका २७ देशमा भएको अध्ययन अनुसन्धानले यस्तो देखाएको हो । यो अनुसन्धानको प्रतिवेदन यूरोपियन जर्नल अफ इण्डष्ट्रियल रिलेशनको पछिल्लो संस्करणमा पनि छापिएको छ । एजेन्सी