२०८३ साउन ११ सोमबार

विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी एमडी संगीता पहाडी अर्याल पुनर्बहाल

ई आर्थिक    बुधबार, असार ३१ २०८३
646
Shares
विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी एमडी संगीता पहाडी अर्याल पुनर्बहाल

काठमाडौं । विशेष अदालतबाट आरोपमा पूर्ण सफाइ पाएपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाल भएकी छन्।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय २०८३ असार २६ गतेको निर्णयअनुसार अर्यालको निलम्बन फुकुवा गर्दै उनलाई प्रबन्ध निर्देशकको जिम्मेवारीमा पुनर्बहाल गरिएको हो।

पदबहाली कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैले पनि डराउन नपर्ने बताइन्। उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रम अन्ततः सत्यको आधारमा समाप्त भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरिन्।

अर्यालले कम्पनीमा प्रक्रियागत सुधार आवश्यक रहेको औँल्याउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारलाई पनि ध्यानमा राखेर काम गरिने बताइन्। उनले नेपाल सरकारको नीति, भावना र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रति जनविश्वास र बजारको साख अझ सुदृढ बनाउने तथा सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल टेलिकमले पनि गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्दै कानुनी शासनको मर्यादालाई आत्मसात गरी देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij