२०८३ साउन १० आइतबार

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कट्वाल भण्डारी निर्वाचित, संघको इतिहासमा पहिलो महिला नेतृत्व

ई आर्थिक    सोमबार, असार २९ २०८३
741
Shares
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कट्वाल भण्डारी निर्वाचित, संघको इतिहासमा पहिलो महिला नेतृत्व

वाणिज्य सदस्यतर्फ काफ्ले समूहको वर्चस्व

ई–आर्थिक, इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कट्वाल भण्डारी निर्वाचित भएकी छन्। आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतान्तरले पराजित गरेकी हुन्। काफ्लेले ७४३ मत प्राप्त गरेका छन्।

भण्डारीको जितसँगै उद्योग वाणिज्य संघ इटहरीले आफ्नो इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ। उनी आगामी तीन वर्षे कार्यकालका लागि संघको नेतृत्व सम्हाल्नेछिन्। भण्डारी यसअघि उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष रहिसकेकी छन् भने रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्षसमेत हुन्।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक गरिएको हो। वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भए। त्यसपछि सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) मत प्राप्त गर्दै विजयी बने। वाणिज्य सदस्यमा निर्वाचित सबै उम्मेदवार काफ्ले समूहका हुन्।

महिला सदस्यतर्फ मीना आचार्य ढकाल ९५६ मतसहित निर्वाचित भइन् भने सुमित्रा घिमिरे भट्टराईले ६८१ मत प्राप्त गर्दै जित सुनिश्चित गरिन्।

उद्योग सदस्यतर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) निर्वाचित भएका छन्। यसअघि नै एशोसिएटतर्फ बिनोद पौडेल र वस्तुगततर्फ सन्जोग पराजुली निर्विरोध निर्वाचित भइसकेका थिए।

निर्वाचनमा कुल दुई हजार ३१९ मतदातामध्ये एक हजार ५४३ मत खसेको थियो। दुईवटा प्यानलबीच प्रतिस्पर्धा भएको निर्वाचनमा अध्यक्ष पद भण्डारीले जिते पनि वाणिज्य सदस्यतर्फ भने काफ्ले समूहले स्पष्ट वर्चस्व कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij