४ मंसिर, काठमाडौं । विजुली बाल्ने तयारीको अन्तिम चरणमा रहेको चमेलिया जलविद्युत आयोजनाको प्रशारण लाइन नछुन आयोजनाले आग्रह गरेको छ । उक्त जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेकाले आयोजना प्रशारण लाइन विद्युत प्रवाह (चार्ज) गर्ने कार्य विहीवार देखि थाल्ने भएकाले प्राधिकरणले उक्त आग्रह गरेको हो ।
यस आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ । दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ ।
४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको हो ।
आयोजनाका अनुसार सार्वजानिक सूचना प्रकाशित गरेरै आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।

उक्त आयोजनाको विद्युत डिसेम्बर १२ मा वेट टेस्ट गर्ने प्लान छ र कुनै समस्या नदेखिएमा तत्कालै चमेलियाबाट बिजुली बल्ने आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान थियो । तर हेडवक्र्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको थियो । बन्द गर्नुपर्ने दुईवटा गेटमा यसपालीको वर्षाले क्षति पुर्याए पछि पूरै पानी नथुनिएपछि बिजुली बाल्ने काम पछि सरेको थियो ।
हाल सिभिल तर्फ हेड वर्क्समा मर्मतको काम र टनेलमा पानी भर्ने काम भइरहेको छ । टनेलमा २९ कात्तिकदेखि भर्न शुरु गरेको पानी आजै भरिने आयोजनाले जनाकारी दिएको छ ।