२०८३ साउन १० आइतबार

देश भित्रिने रकम बढयो, मूल्य वृद्धिदर ३.१ प्रतिशत

ई आर्थिक    सोमबार, मंसिर ४ २०७४
1.9K
Shares
देश भित्रिने रकम बढयो, मूल्य वृद्धिदर ३.१ प्रतिशत
मंसिर ३, २०७४, काठमाडौं । अघिल्ला दुई महिनासम्म निरन्तर घाटामा रहेको शोधनान्तर स्थिति असोजमा बचतमा फर्केको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि असोज महिनामा शोधनान्तर स्थिति ४ अर्ब २७ करोड रुपैयाँले बचतमा पुगेको हो ।

प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक ऋण, रेमिटयान्सलगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकाले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तीन महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा शोधनान्तर स्थिति १९ अर्ब ७० करोड रुपैयाँले बचतमा थियो । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) ३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर भदौसम्म बढेर ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो ।

पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानीलगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार भएकाले शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । आर्थिक वर्ष ०७३/७४ को पहिला २ महिनामा लगातार घटामा रहेको शोधनान्तर तेस्रो महिनाबाट बचतमा गएको थियो । यो वर्ष पनि त्यही प्रवृत्ति दोहोरिएको छ । ‘अघिल्लो वर्षजस्तै यो वर्ष पनि साउन र भदौमा शोधनान्तर घाटा हुनु संयोग मात्र हो,’ उनले भने, ‘पछिल्ला महिनामा मुलुकको बाहय अवस्था सुधारात्मक रहेकाले शोधनान्तर बचतमा पुगेको हो ।’

मूल्य वृद्धिदर ३.१ प्रतिशत

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.१ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ३.६ प्रतिशत विन्दुले कम हो । असोजमा खाद्य वस्तुको मूल्य वृद्धिदर ०.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मूल्य वृद्धिदर ५.७ प्रतिशत थियो । गत वर्षको तुलनामा यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२.९ प्रतिशत, मसलाको मूल्यमा ५.७ प्रतिशत, तरकारीको मूल्यमा ५.१ प्रतिशत र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएकाले समग्र खाद्य समूहको मूल्य वृद्धिदर न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।

सोही अवधिमा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर ५.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर ७.६ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार यो समूहमा पर्ने लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ तथा युटिलिटीलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकाले गैरखाद्य समूहको मूल्य वृद्धिदर पनि कम रहन गएको हो ।

व्यापार घाटा २ खर्ब ३७ अर्ब 

पहिलो तीन महिनामै मुलुकको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो १७.७ प्रतिशले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७७.५ प्रतिशतले बढेको थियो । असोजसम्म  २० अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा यो ७.९ प्रतिशत हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १२.६ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५७ अर्ब ८७ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १६.९ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६९.१ प्रतिशतले बढेको थियो ।

पौने २ अर्ब रेमिटयान्स 

रेमिटयान्समार्फत तीन महिनामा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २.६ प्रतिशतको वृद्धि हो । ०७३ असोजसम्म रेमिटयान्स आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । सोही अवधिमा खुद ट्रान्सफर आय ४.६ प्रतिशतले बढेर २ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij