नवराज माैनाली, काठमाडौँ ।
पर्यटकहरूलाई नेपालमा अतिथिका रूपमा सम्मान गरिन्छ । तर, यहाँ आउने कतिपय ‘अतिथि’ अपराधी पनि छन् । सुन, लागुऔषध र वन्यजन्तुको तस्करीदेखि ह्याकिङ, ठगी र यौनदुराचारसम्मका गम्भीर अपराधमा पनि केही पर्यटक संलग्न रहेका छन् । जसले देशकै सुरक्षामा चुनौती थप्दै छ ।नवराज मैनालीको रिपोर्ट :
दक्षिण अमेरिकी देशहरूमा उत्पादन हुने कोकिन युरोप छिराउन नेपालको बाटो प्रयोग हुन्छ । मध्यपूर्वी एसियाली देशबाट युरोप नेपालभन्दा नजिक छ । तर, अवैध रूपमा युरोप छिर्न उनीहरू नेपालको रुट प्रयोग गर्छन् । अनि अफ्रिकाबाट भारतका लागि भनेर नेपाल हुँदै चिम्पान्जी तस्करी हुन्छ । उनीहरूले किन नेपालकै रुट प्रयोग गर्छन् त ? अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरुका अनुसार सस्तो पर्नेभन्दा पनि सुरक्षित ठानेर यस्ता समूहले नेपालको रुट प्रयोग गरेका हुन् । पछिल्लो समय अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाललाई सुरक्षित ट्रान्जिटको रूपमा प्रयोग गर्न थालेका छन् । तस्करी, ठगीदेखि बालयौनदुराचारजस्ता अपराधका लागि नेपाल विश्वका अपराधीको नजरमा सुरक्षित भूमि बनिरहेको छ । दक्षिण अमेरिकी देशहरूमा उत्पादन हुने कोकिन युरोप छिराउन नेपालको बाटो प्रयोग हुन्छ । मध्यपूर्वी एसियाली देशबाट युरोप नेपालभन्दा नजिक छ । तर, अवैध रूपमा युरोप छिर्न उनीहरू नेपालको रुट प्रयोग गर्छन् । अनि अफ्रिकाबाट भारतका लागि भनेर नेपाल हुँदै चिम्पान्जी तस्करी हुन्छ । उनीहरूले किन नेपालकै रुट प्रयोग गर्छन् त ? अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरुका अनुसार सस्तो पर्नेभन्दा पनि सुरक्षित ठानेर यस्ता समूहले नेपालको रुट प्रयोग गरेका हुन् । पछिल्लो समय अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाललाई सुरक्षित ट्रान्जिटको रूपमा प्रयोग गर्न थालेका छन् । तस्करी, ठगीदेखि बालयौनदुराचारजस्ता अपराधका लागि नेपाल विश्वका अपराधीको नजरमा सुरक्षित भूमि बनिरहेको छ । नेपालको विमानस्थलबाट सुन, डलर तथा लागुऔषध त पटक–पटक तस्करी हुँदै आएको हो । तर, सेटिङ भएपछि विमानस्थलबाट जे पनि भिœयाउन सकिन्छ भन्ने गत ३१ साउनमा प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिम्पान्जीसहित तस्करलाई पक्राउ गरेपछि थाहा भयो । एयरपोर्ट भन्सारका कर्मचारीले ५० हजार घुस खुवाएर विश्वमै संरक्षित जनावर चिम्पान्जी तस्करी गरेका थिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाललाई सुरक्षित ट्रान्जिटको रूपमा प्रयोग गर्न थालेका छन् । तस्करी, ठगीदेखि बालयौनदुराचारजस्ता अपराधका लागि नेपाल विश्वभरका अपराधीको सुरक्षित भूमि बनिरहेको छ ।
नाइजेरियको चिम्पान्जी नेपाल हुँदै तस्करी
विमानस्थलमा सेटिङ भएपछि कतिसम्म हुँदो रहेछ भन्ने कुरा चिम्पान्जी तस्करीबाट प्रस्ट भइसकेको छ । सिआइबीले विमानस्थलबाटै पास भएका दुई चिम्पान्जी, आठ बाँदर र एक सय १२ चरासहित तस्करीमा संलग्न ६ जनालाई ३१ असोजमा पक्राउ गरेको थियो । भन्सार अधिकृत आसुतोष राई तथा नायव सुब्बाद्वय चूडामणि शर्मा र लीला पनेरूले तस्करीमा सघाएका थिए । हाल उनीहरू निलम्बनमा परिसकेका छन् । प्रहरीले तस्करीमा संलग्न सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फयन, सरिफ सहिन र पाकिस्तानी नागरिक आवेद अस्लाम खानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तस्करले कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तथा बाँदर विमानस्थलबाट पास गराएका थिए । तिवारीले नायव सुब्बा चूडामणि शर्मालाई ५० हजार रुपैयाँ दिएर चिम्पान्जी पास गरेको बयान दिएका छन् । तस्करीमा संलग्न समूहले नाइजेरियाबाट चिम्पान्जी, बाँदर तथा चरा ल्याएको हो । चरा ल्याउन पाइने भए पनि संरक्षित वन्यजन्तु चिम्पान्जीको ओसारपसार प्रतिबन्धित छ । उनीहरूले चराभित्र चिम्पान्जी लुकाएर ल्याएका थिए । नेपालबाट भारतमा लैजान चिम्पान्जी ल्याइएको थियो । जसमा अन्तर्राष्ट्रिय गिरोहकै संलग्नता देखिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठ बताउँछन् । सीधै भारतमा लैजाँदा उनीहरूलाई सस्तो पर्छ । तर, नेपालमा सजिलै सेटिङ मिलाएर तस्करी गर्न सक्ने भएकाले उनीहरूले नेपाल रोजेका हुन् । नेपालबाट सडकमार्ग हुँदै चिम्पान्जी भारत तस्करी गर्न लागिएको थियो । सिआइबीले संगठित अपराध मुद्दामा उक्त गिरोहको बारेमा इन्टरपोलसँग सहकार्य गरेर अनुसन्धान गरिरहेको छ । नेपाल चिम्पान्जी तस्करीको मुख्य रुट भएको विषय बिबिसी तथा न्युयोर्क टाइम्सले समेत लेखेको थियो ।
एटिएम ह्याकरको ओइरो
भदौ २१ गते सिआइबीले एक एटिएम ह्याकरलाई पक्राउ गरेर अनुसन्धान गर्दै थियो । त्यसको पाँच दिनपछि अर्का ह्याकर पक्राउ परे । २० भदौमा सिआइबीले टर्किस ह्याकर एकरेम ओरमान्चीलाई पक्राउ गरेको थियो । २५ भदौमा बुल्गेरियन नागरिक मिट्को स्टोनोभ मिटेभ चाक्सीबारीस्थित होटेल बुद्धबाट पक्राउ परे । दुवै हाल नेपालकै जेलमा छन् । पर्यटकको भेषमा नेपालमा विदेशी ह्याकरहरू आएर नक्कली एटिएमबाट पैसा चोर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । पछिल्लो दुई वर्षमा नेपालमा १८ जना विदेशी पक्राउ परिसकेका छन् । गत वर्ष सिआइबीले एटिएम ह्याकिङमा संलग्न पूर्वीयुरोपियन देशका चार समूहलाई पक्राउ गर्यो । पटक–पटक समातिएपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, ह्याकरहरू रोकिएका छैनन् । सिआइबीले ३० वर्षीय टर्किस नागरिक एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । नौ हजार सात सय १० अमेरिकन डलर, एक हजार दुई सय २५ युरो र ३३ हजार रुपैयाँसहित उनलाई ठमेलको रोयल पेन्गुइन होटेलबाट प्रहरीले पक्राउ गरेको थियो । नक्कली एटिएम कार्डमार्फत नेपालमै निकालिएको पैसा बरामद भएको उनले बताइन् । ३४ वटा नक्कली एटिएम, कार्ड स्किमर मेसिन र ल्यापटपसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एटिएमबाट पैसा निकाली डलर र युरो साटेका थिए । नेपाल इनभेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरी उनले पटक–पटक नक्कली एटिएमबाट पैसा निकालेको सिआइबीले जनाएको छ । विदेशी नागरिकको विदेशी बैंकमा रहेको खाताबाट पैसा निकालिएको थियो । भिसा तथा मास्टरकार्डहरू विश्वभर चल्ने भएकाले नेपाल आएर उनीहरू पैसा निकाल्ने गर्थे ।
पर्यटकको भेषमा नेपालमा विदेशी ह्याकरहरू आएर नक्कली एटिएमबाट पैसा चोर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । पछिल्लो दुई वर्षमा नेपालमा १८ जना विदेशी पक्राउ परिसकेका छन् । गतवर्ष सिआइबीले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चार समूहलाई पक्राउ गर्यो । पटक–पटक समातिएपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, ह्याकरहरू रोकिएका छैनन् ।
दुई वर्षमा १८ जना पक्राउ
पछिल्लो दुई वर्षमा सिआइबीले १८ विदेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक बुल्गेरियन तथा अपराध महाशाखाले एक भारतीयलाई नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ गरेको हो । सिआइबीले पाँच बुल्गेरियन, चार मोल्दाभियन, चार रोमानियन, तीन टर्किस तथा दुई भारतीयलाई पक्राउ गरिसकेको छ । विश्वभर नै एटिएम ठगीमा टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू कुख्यात छन् । जसको मुख्य नाइकेहरू भने टर्कीमा रहेको प्रहरी अधिकारी बताउँछन् ।

कसरी हुन्छ ह्याकिङ ?
प्रहरीको अनुसन्धानअनुसार तीन तरिकाबाट एटिएम ह्याकिङ हुने गरेको छ । सबैभन्दा धेरै ह्याकिङ सपिङ मलहरूमा हुने गरेको छ । सपिङ गर्नेक्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पिओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ । त्यस्तै एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी हुने गरेको छ । उक्त डाटा खाली कार्डमा भरेर नक्कली एटिएम बनाई सोही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको हो । जुन अपराधको ट्रेन्ड पछिल्लो समय नेपालमा देखिएको छ । कतिपय अवस्थामा भने ग्राहककै मिलेमतोमा समेत चोरी हुने गरेको छ । ग्राहकहरूले नै ह्याकरस“ग मिलेर आफ्नो कार्डको विवरण दिई पैसा निकाल्न लगाउने र आफ्नो कार्ड ह्याक भएको भन्दै बैंकमा पैसा दाबी गर्दछन् । ह्याकरहरूले अर्काे देशमा गएर पैसा निकाल्ने भएकाले बैंकहरूले यस्तो बदमासी थाहा पाउँदैनन् । ह्याकरले निकालेको पैसा बैंकले हालिदिने र ह्याकरस“ग पनि कमिसन खाने प्रवृत्तिसमेत देखा परेको छ । कतिपय देशमा बैंकका कर्मचारीहरू नै ह्याकरस“ग मिल्ने गरेका छन् । बैंकहरूले पनि ग्राहकको पैसाको बिमा गर्ने गरेकाले बिमा कम्पनीबाट चोरी भएको रकम खातामा जम्मा गरिदिन्छन् । त्यसकारण यस्ता घटना बैंकले पनि गुपचुप राख्ने गरेका छन् । तर, एक गिरोहले त गोप्य क्यामरा र स्किमर मेसिन एटिएम बुथमा राखेर नेपाली ग्राहककै एटिएम ह्याक गरी पैसा चोरेका थिए ।
किन आउँछन् ह्याकर नेपालमा ?
बैंकहरूले सुरक्षामा लगानी गर्न कञ्जुस्याइँ गर्दा एटिएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा ‘फेजआउट’ भइसकेको मेग्नेटिभ स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलित छ । सुरक्षाका कारण विश्वभर युएमभी चिप प्रविधिका कार्डहरू प्रयोग भइरहेका छन् । तर, युएमभी चिप प्रविधिका कार्ड जारी गर्न धेरै खर्च लाग्ने भएकाले बैंकहरूले त्यसलाई प्राथमिकता दिन सकेका छैनन् । ह्याकरहरू सक्रिय भएपछि मात्र हाल बैंकहरूले चिप प्रविधिमा जोड दिएका छन् । चिप प्रविधिका एटिएम कार्ड ह्याक गर्न कठिन हुन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूलाई चिप प्रविधिमा जान निर्देशन दिएको छ । मास्टरकार्ड र भिसाकार्डले सन् २०१७ भित्र अनिवार्य रूपमा चिपकार्ड जारी गर्न डेडलाइन दिइसकेको छ । अर्काेतर्फ नेपालको सुरक्षा संयन्त्र कमजोर ठानेर पनि ह्याकरहरूले नेपाललाई एटिएमबाट पैसा चोर्ने गन्तव्य बनाएको हुन सक्ने प्रहरी आशंका छ । पूर्वी युरोपियन देशका नागरिकहरू पटक–पटक नेपालमा पैसा चोरेर जाने गरेको खुलिसकेको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह भएको र नेपाल आउनेहरू उक्त गिरोहका लागि काम गर्ने सामान्य व्यक्तिहरू मात्र भएको प्रहरी अधिकारीहरू बताउँछन् । पक्राउ परिहाले पनि नेपालमा १÷२ वर्षमै छुट्न सक्ने भएकाले पनि सो गिरोहले नेपाललाई आफ्नो टार्गेटमा पारेको हो । केही ह्याकरहरूले बैंकको सिस्टमनै ह्याक गर्न थालेका छन् ।
३२ देशका लागुऔषध तस्कर नेपालमा
गत १६ कात्तिकमा नर्वेजियन नागरिक मार्टिन साङवे नेपाल भ्रमण सकेर फर्कंदै थिए । फर्कनेक्रममा विमानस्थलमा उनको लगेज प्रहरीले चेकजाँच गर्यो । जसमा केही शंकास्पद वस्तु देखियो । झोला खोलेर हेर्दा चरेस लुकाएको फेला पर्यो । घुम्ने बहानामा उनी चरेस तस्करीका लागि नेपाल आएका थिए । कतार एयरको उडानबाट दोहा हुँदै नर्वे जान लागेका राहदानी नम्बर ३२७५४०९० बाहक नर्वेजियन नागरिक ३३ वर्षीय साङ्वेको साथबाट २ किलो ८ सय ५० ग्राम चरेस बरामद भयो । यसरी पर्यटकको आवरणमा लागुऔषध तस्करीका लागि धेरै विदेशीहरू नेपाल आउने गरेको लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी ठुले राई बताउँछन् । नेपाललाई ट्रान्जिट तथा आधार बनाएर गाँजादेखि कोकिनसम्मको कारोबार हुने गरेको पाइएको छ । नेपालमा हालसम्म ३१ देशका नागरिकहरू लागुऔषध कारोबारको अभियोगमा पक्राउ परिसकेका छन् । पछिल्लो ६ वर्षमा नेपालमा ३२ देशका एक सय ३५ जना विदेशी लागुऔषध कारोबारी पक्राउ परेका छन् । जसमा सबैभन्दा धेरै भारतीय छन् । भारतीय, चिनियाँ र पाकिस्तानी लागुऔषध कारोबारी नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । पछिल्लो समय दक्षिण अमेरिकी तथा अफ्रिकन देशका नागरिक नेपालमार्फत लागुऔषध ओसार–पसारमा सक्रिय रहेको प्रहरीको भनाइ छ । लागुऔषधसम्बन्धी अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको निकाय लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का अनुसार अस्ट्रिया, बोलिभिया, बेलायत, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, गिनी, नर्वे, जर्जिया, भारत, इजरायल, इरान, इटाली, जोर्डन, मलेसियाका नागरिकले नेपालमा बसेर लागुऔषध तस्करी गर्दै आएका छन् । त्यस्तै, नेदरल्यान्ड, नाइजेरिया, नामिबिया, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, सेरालियोन, दक्षिण अफ्रिका, थाइल्यान्ड, टर्की, युक्रेन, अमेरिका तथा भेनेजुएलाका नागरिक लागुऔषध तस्करी गर्नेक्रममा नेपालमा पक्राउ परेका छन् । पाकिस्तानमा उत्पादन हुने सेतो हेरोइन नेपाल हु“दै विभिन्न देशमा तस्करी हुने गरेको छ । ०७० भदौमा सेतो हेरोइनका मुख्य कारोबारी साइदा परविन र उनका दुई सहयोगीलाई लागुऔषध नियन्त्रण ब्युरोले साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ गरेको थियो । परविन अन्तर्राष्ट्रिय कारोबारी समूहकी एक सदस्य हुन् । उनी अदालतमा चलखेल गरी सफाइ पाएर पाकिस्तान पुगिसकेकी छिन् । उनका दुई सहयोगी अता मोहम्मद साह, सइद हुसेन काज्मी जेलमै छन् । परविनलाई पुनरावेदन अदालतले १५ वर्ष कैद सजाय सुनाइसकेको छ । उनीहरू पक्राउ परेपछि नेपाललाई ट्रान्जिट बनाई हेरोइन तस्करी घटेको छ । नेपालकै बजारका लागि खैरो हेरोइन भने भारतबाट तस्करी हुने गरेको छ । हेरोइन तस्करी घटिरहेका वेला नेपालमा कोकिनको कारोबार भने बढेको छ । नेपालमा पहिलोपटक २०६८ सालमा कोकिन बरामद भएको थियो । त्यसयता करिब ३० किलो कोकिन बरामद भइसकेको छ । गत १२ जेठमा मात्र नाइजेरियन र भेनेजुएलाका दुई नागरिक कोकिनसहित पक्राउ परेका थिए । नेपालका कोकिन प्रयोगकर्ता नभएपछि ट्रान्जिट देशका रूपमा नाइजेरियन समूहले ओसार–पसार गर्दै आएको छ । उनीहरूले दक्षिण अमेरिकी देशका नागरिकलाई भरियाका रूपमा प्रयोग गरी कोकिन कारोबार गर्दै आएको डिआइजी चन्द बताउँछन् । युरोपका साथै भारत, चीन, थाइल्यान्डलगायतका देशमा समेत नेपाल हुँदै कोकिन जाने गरेको छ । दक्षिण अमेरिकन देशमा उत्पादन हुने कोकिन युरोप लैजान नेपाललाई ट्रान्जिटका रूपमा रोजिने गरिएको छ । यसका तीन कारण छन्, कमजोर कानुन, कमजोर सुरक्षा प्रणली र रुट फेरेर लैजाँदा हुने सहजता । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र पाँच लाख रुपैयाँसम्म जरिवानाको कानुनी प्रावधान छ । जबकि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ । नेपालमा पक्राउ नै परे पनि १५ वर्ष जेल बसेर छुट्न सकिने भएकाले धेरैले नेपाललाई ट्रान्जिट बनाउने गरेका हुन् । त्यस्तै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर आँकलन गरेर पनि लागुऔषध कारोबारीले नेपालको भूमि प्रयोग गर्दै आएका छन् । विदेशी नागरिक नेपाल आउँदा प्रहरीलाई चेकजाँच गर्ने अधिकार छैन । विमानस्थलबाट प्रस्थानको चेकिङमा पनि लागुऔषध चेक गर्ने अत्याधुनिक मेसिन नभएकाले पटक–पटक उनीहरू प्रहरीलाई छल्न सफल हुने गरेका छन् । नेपालमा कोकिन उत्पादन हुँदैन । त्यसकारण नेपालबाट जाने यात्रुहरूमाथि अन्तर्राष्ट्रिय विमानस्थलमा कडा चेकिङ हुँदैन । जबकि ब्राजिललगायतका देशबाट सीधै युरोपियन देशमा जाँदा निकै कडा चेकिङ हुन्छ । त्यसकारण अन्तर्राष्ट्रिय कारोबारीले रुट बदलेर दक्षिण अमेरिकामा उत्पादन हुने कोकिन नेपाल ल्याएर युरोप पुर्याउने गरेका छन् ।
चिनियाँ तस्करको बढ्दो चलखेल
भारतीय अपराधीहरू नेपालमा पक्राउ पर्नु सामान्य हो । खुला सिमाना भएका कारण पनि भारतीयहरू नेपालमा अपराध गर्न तथा अपराध गरेर लुक्न आउँछन् । तर, भिसा लगाएर आउनुपर्ने चिनियाँहरूको समेत नेपालमा आपराधिक गतिविधिमा संलग्नता बढ्दो छ । चिनियाँको आर्थिक अपराधमा संलग्नता धेरै देखिएको प्रहरीले जनाएको छ । गत १९ भदौमा प्रहरीले ८८ केजी सुन क्षेत्रपाटीमा बरामद गर्यो । उक्त सुन तस्करका मुख्य नाइके तीनजना चिनियाँ नागरिकहरू भएको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए । चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ र अर्का चिनियाँ झोङ होङ ल्याङले उक्त सुन तस्करी गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ । त्यसको चार दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १५ केजी सुनसहित टोखाबाट सातजनालाई पक्राउ गरेको थियो । सो सुन पनि चिनियाँ तस्करहरूले नै भित्याएको सिआइबीले जनाएको छ । नेपालमा बिजनेस भिसा लिएर बसेका धेरै चिनियाँहरू डलर, सुन र हुन्डीको अवैध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । यसरी चिनियाँहरूको अपराधमा संलग्नता यो पहिलोपटक होइन । हरेक महिनाजसो चिनियाँहरू पटक–पटक पक्राउ पर्दै आएका छन् । सुन, डलर तथावन्यजन्तुको तस्करीमा पटक–पटक चिनियाँहरू पक्राउ पर्दै आएका छन् । त्यस्तै लागुऔषध, रुद्राक्ष तथा रक्तचन्दनसहित पटक–पटक चिनियाँ पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले कोकिन तस्करीका लागि आएकी एक चिनियाँलाई समेत गतवर्ष पक्राउ गरेको थियो ।
भारतबाट बाघ, चीनबाट चिरुको रौँ
वन्यजन्तु तस्करीमा पनि नेपाल ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएको छ । भारतबाट बाघको छाला नेपाल हुँदै चीन जाने गर्दछ भने चीनबाट चिरुको रौँ नेपाल हुँदै भारत पुग्ने गरेको छ । एउटै बाघको छाला तथा हड्डीको २० लाखसम्ममा कारोबार हुने गर्दछ । बाघको छालालगायत वन्यजन्तुका अंगको चीनमा धेरै माग हुने गर्दछ । भारतको आदिवासी समूह बन्जाराले बाघ मारेर नेपाल हुँदै चीनमा तस्करी गर्दै आएको प्रहरीले जनाएको छ । गतवर्ष सिआइबीले त्यस्तो समूहलाई पक्राउ गरेको थियो । बहुमूल्य चिरुको रौँ पनि नेपाल हुँदै भारत जाने गर्दछ ।
नेपालमा ठगी धन्दा गर्ने नाइजेरियनहरू पटक–पटक पक्राउ परेका छन् । नाइजेरियनहरू ठगीका लागि विश्वमै कुख्यात छन् । नेपालमा ठग्न र उम्कन सहज ठानेर नेपाललाई समेत आफ्नो टार्गेट बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
ठगी गर्न अफ्रिकादेखि नेपाल
नेपाल घुम्न आएका दुई नाइजेरियन युवक यतिवेला प्रहरी हिरासतमा छन् । उनीहरू घुम्ने बहानामा नेपाली ठग्न आएका थिए । एक करोडभन्दा धेरै ठग्न पनि सफल भए । डौग्लास एमोबियाकोराइजी र जुलियस फेसटुस चिजेकुवालाई गत २७ असोजमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरूले फेसबुकबाट साथी बनाई अमेरिका लैजाने भनेर ठग्नेदेखि इमेल ह्याक गरेर धेरै नेपालीलाई ठगी गरेको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । सो समूहले नेपाली सेनाका जवान अमृत दाहालसँग २ लाख ९२ हजार रुपैयाँ ठगी गरेका थिए । मिरावल विल्सनको नाममा फेसबुक खोली आफू अमेरिकन आर्मी भएको भन्दै भ्रममा पारी अमेरिकामा लैजाने भन्दै उनीहरूले ठगी गरेका थिए । त्यस्तै नेपालमा ट्राभल व्यवसायीलाई इमेल नै ह्याक गरी ठगी गरेका थिए । ट्रेकिङ व्यवसायी मिङमार लामाको एक हजार ९ सय ८० डलर, तोकबहादुर लामाको २ हजार चार सय ३० डलर, ताराकुमार राईको १५ सय ४४ यूरो ठगी गरेका थिए । अपराध महाशाखाका डिएसपी रविन कार्कीका अनुसार सुरुमा उनीहरू एयरपोर्टको ब्लु रिभर गेस्ट हाउसमा बसे । पैसा माग्दा सिद्धिएको बताए । विदेशबाट पैसा आउने भन्दै श्याम घलेको खाता नम्बर मागेका थिए । उनको खातामा ५ हजार आएपछि होटेलको बिल तिरेर भागे । ठगीको पैसा लिन घलेको खाता प्रयोग गरेका थिए । घलेसहित उनलाई सहयोग गर्ने स्नेहा श्रेष्ठ र केशव गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको छ । स्नेहासँग उनको सोह्रखुट्टेको पोटर हाउस चर्चमा भेट भएको थियो । केही खर्च पाउने भएपछि उनले खाता प्रयोग गर्न दिएकी थिइन् । त्यस्तै गुरुङसँग खाजा खानेक्रममा उनीहरूको चिनजान भएको थियो । स्नेहाको खातामा थप ५ हजार चार सय डलर आएको र त्यो कसको पैसा भन्ने खुलेको छैन । उनीहरूले कसरी इमेल ह्याक गर्थे भन्ने विषयमा अनुसन्धानमै रहेको डिएसपी कार्की बताउँछन् । नेपालमा नाइजेरियनहरू पटक–पटक ठगीमा पक्राउ परेका छन् । नाइजेरियनहरू ठगीका लागि विश्वमै कुख्यात छन् । नेपालमा ठग्न र उम्कन सहज ठानेर नेपाललाई समेत आफ्नो टार्गेट बनाएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । तीन वर्षअघि सिआइबीले तीनजना नाइजेरियनलाई वेभ एसएमएसको नाममा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । उपहार परेको भनेर उनीहरूले ठगी गरेका थिए ।
चोरी गर्नेको समेत गन्तव्य
केही पेसेवर चोरहरू समेत नेपालमा चोरी गर्न आएका वेला पक्राउ परेका छन् । काठमाडौं विमानस्थलमा दुई वर्षअघि पेरुका जेभियर सेमिनारियो, अलिपियो ओरोग्पिना र लुइस बेगा पक्राउ परेका थिए । उनीहरूले भारतीय नागरिक सुनन्दा अंकिताको झोलाबाट दुई लाख भारु चोरी गरेका थिए । अंकिताले आफ्नो झोला भुइँमा राखेर काउन्टरमा फर्म भर्न लागेका वेला उनीहरूले चोरी गरेका हुन् । उनीहरू पेरुबाट ब्राजिल, तान्जानिया हुँदै नेपाल आएका थिए । अरू देशका विमानस्थलमा पनि उनीहरूले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान थियो । उनीहरूबाट प्रहरीले करिब ६ हजार अमेरिकी डलर बरामद गर्यो ।
युरोप छिर्न नेपालको रुट
युरोप मध्यपूर्वी देशबाट नेपालभन्दा निकै नजिकमा छ । तर, कतिपय मध्यपूर्वी देशका व्यक्तिहरू युरोप छिर्न नेपालको रुट प्रयोग गर्दछन् । आखिर किन ? नक्कली पासपोर्ट तथा भिसा प्रयोग गरी युरोप छिर्न चाहनेले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेका हुन् । गत भदौमा तीन इरानी र एक सिरियनलाई अध्यागमन विभागले पक्राउ गरेको थियो । सेयेद अली खाराजानी, उनकी श्रीमती लिसनिडे ट्रियानटाफेलेस र उनीहरूको डेढ वर्षको बच्चालाई नियन्त्रणमा लिएको थियो । त्यस्तै अर्का इराकी जोहारा जामनी डेनी र सिरियाका मोहम्मद फौद उनोथेमेनलाई पक्राउ गरेको हो । सिरियन नागरिक भने स्पेनको नक्कली पासपोर्ट लिएर क्यानडा जान नेपाललाई ट्रान्जिट बनाएका थिए । सक्कलीजस्तै देखिने नक्कली एमआरपी लिएर उनीहरू नेपाल आएका थिए । पासपोर्टमा भिसा लगाइसकेपछि सूचना आएपछि उनीहरू पक्राउ परेका छन् । द्वन्द्वग्रस्त मध्यूपूर्वी देशका नागरिकहरू पटक–पटक नक्कली पासपोर्टसहित पक्राउ पर्दै आएको विभागका महानिर्देशक दीपक काफ्लेले बताए । त्यस्तै पाकिस्तानी तथा अफगानीहरूसमेत नक्कली पासपोर्टमार्फत नेपाल छिर्ने गर्दछन् । विमानस्थलमा आधुनिक प्रविधिको अभावका कारण पनि नेपालको विमानस्थलमा केही कमजोरी हुने गरेको उनी बताउँछन् । नेपाललाई अन्तर्राष्ट्रिय अपराधीको हबबाट जोगाउन प्रविधितर्फ लगानीमा जोड दिनुपर्ने सिआइबीका डिआइजी पुष्कर कार्की बताउँछन् । विमानस्थलको सुरक्षा बलियो बनाउनेदेखि अनुसन्धानमा प्रहरीलाई प्रविधिगत रूपमा सक्षम बनाउनुपर्ने उनको भनाइ छ । विश्वमै अन्तरदेशीय अपराध बढिरहेका वेला तत्काल यसमा गम्भीरता नअपनाए नेपाललाई विदेशी अपराधीहरूले थप बदनाम बनाउन सक्ने खतरा बढ्दै गएको छ ।
पर्यटकको आवरणमा यौनदुराचारी
एक वर्षमा ६ जना विदेशी बाल यौनदुराचारको आरोपमा पक्राउ
अस्ट्रियन नागरिक केन्डलर मार्कुसको धादिङको गोगनपानीमा समाजसेवीको छवि थियो । गाउँलेले हरेकपटक गाउ“ जाँदा सम्मान गर्दथे । किनकि गाउँमा उनले सहयोग गरेका थिए । तर, समाजसेवामार्फत सन्तुष्टि लिन नभई गाउँका गरिब बालकसँग अप्राकृतिक यौन गतिविधिमा रमाउने उद्देश्यले उनी त्यहाँ पुग्ने गर्थे । गत भदौ २२ मा पक्राउ परेपछि मात्र गाउ“लेले उनको वास्तविकता थाहा पाए । मार्कुसलाई सिआइबीले ठमेलबाट एक बालकसँग नग्न अवस्थामा पक्राउ गरेको थियो । पेसाले इलेक्ट्रिसियन बताउने उनी पटक–पटक नेपाल आउने थिए । हालसम्म उनीबाट दुईजना बालक यौनदुराचारमा परिसकेको पुष्टि भएको छ । सन् २०१४ देखि नेपाल आउन थालेका उनी चारपटक नेपाल आइसकेका छन् । सन् २०१७ मा दुईपटक नेपाल आएका उनी पछिल्लोपटक अगस्ट २० मा नेपाल आएका थिए । तीन वर्षअघि आउँदा ठमेलका रिक्साचालक विजय लामासँग उनको चिनजान भएको थियो । लामाले समाजसेवीका रूपमा उनलाई आफ्नो गाउँ लिएर गएका थिए । गाउँमा समाजसेवा गरेजस्तो गरी उनले बालकहरूलाई काठमाडौं बोलाएर यौनशोषण गर्दै आएका थिए । उनीविरुद्ध ती बालकले उजुरी दिएपछि अदालतले गत महिना उनलाई जेल चलान गरेको छ ।

बालकहरूसँग यौनमा रमाउन नेपाल
गत १५ असारमा प्रहरीले जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिचेलाई पक्राउ गरेको थियो । उनको कोठाबाट एक बालकलाई समेत उद्धार गरेको थियो । नेपालमा बारम्बार विदेशीहरू बालयौन दुराचारको अपराधमा पक्राउ पर्दै आएका छन् । गत जेठमा पनि एक साउदी अरेबियन नागरिक बाल यौन दुराचारकै आरोपमा पक्राउ परेका थिए । साउदी अरेबियाका ६३ वर्षीय साहिद मोहम्मदलाई महिला तथा बालबालिक सेवा केन्द्र कालिमाटीले पक्राउ गरेको थियो । उनले एक सडक बालकलाई खाना खुवाउने भन्दै ठमेलको नियल होटेलमा लगेर ‘ओरल सेक्स’लगायत गतिविधि गराएका थिए । पछि साथी नामक संस्थाले उक्त घटना थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए ।दुई वर्षअघि विश्वकै कुख्यात बालयौन दुराचारी फेनविक म्याकन्तोस ललितपुरमा पक्राउ परेका थिए । सेन्ट जेभियर्स वेलफेयर सेन्टरका एक बालकलाई होटेलमा लगेर उनले यौनशोषण गरेका थिए । धनाढ्य व्यवसायी म्याकन्तोस क्यानडाका कुख्यात बालयौन दुराचारी हुन् । जो भारतमा समेत बालयौन दुराचारकै आरोपमा पक्राउ परेका थिए । क्यानडामा मोस्ट वान्टेड रहेका उनलाई भारतमा पक्राउ गरी क्यानडा बुझाइएको थियो । तीन वर्षअघि क्यानडामा छुटेपछि नेपालमा बस्दै आएका थिए । उक्त घटनामा उनलाई सात वर्ष मात्र कैद सजाय भएको छ । ललितपुर जिल्ला अदालतले पीडित बालकलाई १० लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । हाल उनी जेलमा छन् । केही महिनाअघि फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपसमेत बालयौन दुराचारकै लागि पटक–पटक नेपाल आउने गरेको खुलेको छ । तीन महिनाअघि फ्रान्सका प्रहरी उनको गतिविधिबारे अनुसन्धान गर्न नेपाल आएका थिए । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ । अमेरिकामा बालयौन दुराचारीका रोगीहरूको संस्था नै छ । उनीहरूकै नेटवर्कमार्फत कतिपय नेपाल आउने गर्दछन् । सो समूहले तेस्रो लिंगीजस्तै छुट्टै पहिचान दिनुपर्ने भन्दै लबिङ गर्दै आएको छ ।
कमजोर कानुनको परिणाम ?
कमजोर सजायका कारण नेपाल विश्वमै बाल यौनदुराचारीको ‘हब’ बन्दै गएको छ । सिआइबीले २५ भदौ, २०७३ मा अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस् र नेपाली एजेन्ट बुद्ध पुतवारलाई बालयौन दुराचारको अभियोगमा पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्दा संगठित रूपमै नेपालमा बालयौन दुराचारको धन्दा चलाउने गरेको खुलेको थियो ।नेपालमा प्रहरीले बालयौन दुराचार मुद्दामा जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउँछ । जसमा १३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । विदेशमा जन्मकैदसम्मको सजाय हुने हुन्छ । नेपालमा गरिब परिवारका बच्चालाई सहयोगको प्रलोभनमा सजिलै प्रभावमा पार्न सकिने ठानेर यौन दुराचारीहरू पर्यटकको आवरणमा आउने गरेको प्रहरी अधिकारी बताउँछन् । हाल जेलमा रहेका ४८ वर्षीय अमेरिकी नागरिक कुम्बस यसअघि पनि बालयौन दुराचार मुद्दामा अमेरिकामा पक्राउ परी फरार भएका व्यक्ति हुन् । पेसाले उनी मोबाइल एप डिजाइनर हुन् । २१ वर्षीय नेपाली युवक पुतवार भने विदेशीलाई बालक उपलब्ध गराउने एजेन्ट हुन् । धेरै विदेशीले नेपाल आउँदा उनलाई नै फोन गरेर बालक मगाउने गरेको खुलेको थियो । पक्राउ परेका कुम्बसले पाँचजना बालकलाई ठमेलको एक होटेलमा बोलाएर यौन दुव्र्यवहारमा प्रयोग गरेका थिए । त्यसबापत उनले बालक र एजेन्टलाई पैसा दिँदै आएका थिए । विश्वका धेरै देशमा बालयौन दुराचार मुद्दामा कडा सजाय भए पनि नेपालमा कमजोर सजाय भएकाले विदेशीहरू पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । नेपालमा पक्राउ परे पनि केही वर्षमै छुट्ने भएकाले विश्वका बाल दुराचारीका लागि नेपाल ‘हब’ बन्दै गएको छ । बालयौन दुराचार एक प्रकारको मानसिक रोग हो । यस्ता रोग भएका मानिस कलिला बालकसँग यौनक्रीडामा रमाउने गर्दछन् ।
हाम्रो सिस्टममै कमजोरी छ
- डिआइजी पुष्कर कार्की निर्देशक, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)
नेपाललाई ट्रान्जिट बनाएर अन्तर्राष्ट्रिय गिरोहले चिम्पान्जीको समेत सजिलै तस्करी गर्न थाले । यसले हाम्रो देशको सुरक्षा अवस्था निकै नाजुक रहेको प्रस्ट्याउँदैन ?
वन्यजन्तुको तस्करी त विगतमा पनि भइरहेको हुन सक्छ । कतिपयलाई नेपाल प्रहरी कमजोर छ, नेपालले साइटिक्स सन्धिमा हस्ताक्षर गरेको छैन भन्नेजस्ता कुरा ठानेर पनि वन्यजन्तुको तस्करी गरेको हुन सक्छ । यस्ता अपराध रोक्न प्रहरी पनि सक्रिय छ ।
धेरै किमिसका अपराधीले नेपाललाई अपराधका लागि ट्रान्जिट र हबका रूपमा किन प्रयोग गरिरहेका होलान् ?
विश्वमा पोर्ट तथा विमानस्थलमा भन्सार, अध्यागमन र प्रहरी सँगै हुन्छ । तर, हाम्रोमा छुट्टाछुट्टै छ । प्रहरीसँग भन्सारको डाटा छैन । भन्सारमा चेकजाँच गर्ने अधिकार प्रहरीलाई छैन । जसकारण हाम्रो सिस्टममै कमजोरी छ । यसले अपराधीलाई फाइदा भएको छ । अन्तरदेशीय अपराध नियन्त्रणका लागि सहकार्य अत्यावश्यक भइसकेको छ ।
विश्वमा पोर्ट तथा विमानस्थलमा भन्सार, अध्यागमन र प्रहरी सँगै हुन्छ । तर, हाम्रोमा छुट्टाछुट्टै छ । प्रहरीसँग भन्सारको डाटा छैन । भन्सारमा चेकजाँच गर्ने अधिकार प्रहरीलाई छैन । जसकारण हाम्रो सिस्टममै कमजोरी छ ।
कस्ता अपराधमा विदेशीहरू समातिएका छन् ?
प्रायः कुन देशबाट आउने गरेका छन् ?धरै किसिमका अपराधमा समातिएका छन् । अन्तरदेशीय अपराधमा विदेशीहरू संलग्न छन् । कि विदेशबाट सामान ल्याएर नेपाल हुँदै बाहिर पठाउने अथवा नेपालबाट लागुऔषध बाहिर पठाउने अपराधमा उनीहरू संलग्न छन् । पहिले लागुऔषध मुद्दामा मात्र विदेशी पक्राउ पर्दथे । पछि जडीबुटी तथा रक्तचन्दनमा विदेशी संलग्न हुन थाले । अहिले सुन तस्करीमा पनि विदेशीहरू संलग्न रहेको देखिएको छ । यसबाहेक बालयौनदुराचारीको छुट्टै पाटो छ । सिआइबीले धेरै विदेशी बालयौन दुराचारीलाई पक्राउ गरिसकेको छ । एटिएम ठगी र ह्याकिङमा पनि नेपालमा पूर्वीयुरोपियन देशका नागरिक पक्राउ परेका छन् ।
किन उनीहरूले नेपाललाई नै रोजिरहेका छन् ? हाम्रो सुरक्षा प्रणाली एकदमै कमजोर हो ?
हाम्रो सिस्टममा पनि कमजोरी भयो । अर्काे हाम्रो गरिबीसँग विदेशीले खेलेका छन् । बालयौन दुराचार हाम्रो गरिबीसँग पनि जोडिएको छ । आर्थिक सहयोगको आवरणमा उनीहरूले यौन शोषण गरिरहेका छन् । प्रविधिका कमजोरी पनि छन् । एटिएम ठगीमा हाम्रो प्रविधिमा केही कमजोरी छन् । चिप्स प्रविधिको एटिएम कार्ड सबैले लागू गर्नु अनिवार्य भइसकेको छ ।
विमानस्थलको सुरक्षा प्रणालीमा पटक–पटक प्रश्न उठ्दै आएको छ नि ?
साधन र प्रविधिमा हामीले जोड दिनुपर्छ । विमानस्थललाई मान्छेभन्दा पनि प्रविधिले बलियो बनाउनुपर्छ । अर्काे कुरा विमानस्थलबाट को–को आए भन्ने कुरा प्रहरीले थाहा पाउँदैन । त्यो विवरण अध्यागमनले प्रहरीलाई दिने सिस्टम छैन । तीन वर्षदेखि नै प्रहरीले केन्द्रीय सेन्ट्रल डाटा सेन्टर बनाउने प्रयास गरिरहेको छ । त्यसो भएमा अपराध नियन्त्रण गर्न सहज हुन्थ्यो । यसमा राज्यले पनि ध्यान दिन सकेको छैन । केही कानुनी कमजोरीसमेत छन् । यी पक्षमा सुधार हुनुपर्छ । नत्र अन्तर्राष्ट्रिय अपराधीको चलखेल अहिलेभन्दा नबढ्ला भन्न सकिन्न । नयाँ पत्रिकाबाट