काठमाडौं । दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । धनगढी–डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने स्थानमा आइतबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दाङको लमही नगरपालिका–१ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हो ।
कैलाली बस दुर्घटनामा तीनको मृत्यु हुनेमा एक बालक र दुई महिला सहित तीन जनाको मृत्यु भएको हो । मृतकहरु सबै जना बैतडी मेलौलीका रहेपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतबार विहान ४ बजेतिर सडकवाट भीरमा खस्दा दुर्घटना भएको हो । बस छुट्ने बेला ४२ जना यात्रु सवार रहेको समितिका पदाधीकारीले बताएका छन् ।

बिहानसम्म प्रहरीले २७ जना मात्रै घाइते बताएपनि अहलिेसम्म घाइतेको संख्या ३४ जना पुगेको छ । दुर्घटना स्थलबाट सार्वजनिक यातायात, ट्रक र एम्बुलेन्सबाट घाइतेहरुलाई कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल ल्याउने क्रम जारी रहेको छ ।
अत्तरियामा चिकित्सकहरुको टोली उपचारमा खटिएको छ । घटनास्थलमा उद्धारको कार्य जारी रहेको छ भने घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइदैछ । दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।
त्यसैगरी दाङको लमही नगरपालिकाको दुर्घटनामा मृत्यु हुनेमा राप्ती गाउँपालिका– ५ का २६ वर्षीय राममति चौधरी र राप्ती गाउँपालिकाका–८ गिता बस्याल रहेको छ ।
ना १ ज १३४९ जिप (ट्याक्सी) र ना४ ख ७९५५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । घाइते चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते ६ जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।