कात्तिक १०, काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आ.व.को प्रथम त्रैमासिकमा गत आ.व.को सोही अवधिको तुलनामा २४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. ५१ अर्व ३३ करोड ९९ लाख २२ हजार रहेकोमा रु. ५१ अर्व ६२ करोड ९७ लाख १३ हजार संकलन भई लक्ष्यको तुलनामा १०१ प्रतिशतको प्रगति भएको छ भने गत वर्षको असोजसम्मको असुलीको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ ।
शीर्षकगत रूपमा आयकर तर्फ रु. २० अर्व ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर रु. १८ अर्व ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्क तर्फ रु. १२ अर्व ८१ करोड ९३ लाख ३८ हजार संकलन गरेको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. २० करोड २२ लाख ८४ हजार र रु. २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४÷७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।
कात्तिक ८ गते आन्तरिक राजस्व विभागमा आयोजित मासिक समीक्षा कार्यक्रममा महानिर्देशक किशोरजंग कार्कीले आर्थिक वर्षको शुरुका २ महिना राजस्व संकलनमा केही समस्या भए पनि अहिले लक्ष्य पूरा गरेकोमा सवै कर प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई बधाई दिनुभयो । असोज महिनामा धेरै विदा हँुदा हुँदै पनि कर प्रशासनको सक्रियताले लक्ष्य पूरा भएको उहाँको भनाइ थियो ।

विभागलाई प्राप्त ३ सय अर्वको असुलीको लक्ष्यमा अझै २० प्रतिशत बढी संकलन गर्नका लागि सक्रिय भएर लागि पर्न निर्देशन दिंदै महानिर्देशक कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन निर्देशन दिनु भएको थियो । विभागले देखेको संभावनाका आधारमा कार्यालयहरुलाई राजस्व असुलीको लक्ष्य निर्धारण गरिएको बताउनुहँुदै त्यो पूरा हुने अपेक्षा राख्नु भएको थियो । कर्मचारीहरुलाई मर्यादा र अनुशासनमा बस्न निर्देशन दिनुहँुदै विभागले छिट्टै कार्यालयहरुको अनुगमन गर्ने बताउनुभयो । अधिकांश कार्यालयस“ग कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेकोले कार्य सम्पादन सम्झौतामा उल्लेखित विषय पूरा गर्ने तर्फ लाग्न निर्देशन दिनु भएको थियो । दैनिक कार्य योजनासहित प्रस्तुत हुन सके लक्ष्य पूरा गर्न सहज हुने उहांको भनाई थियो ।
मंसिर १ गते छैटौं राष्ट्रिय कर दिवस मनाउन मूल समारोह समिति गठन भएको र विभिन्न उपसमितिहरुलाई गरिएको कार्य विभाजन अनुसार कार्य गर्न समेत उहाँले निर्देशन दिनु भएको थियो ।
उक्त कार्यक्रममा विभागको अनुगमन शाखाका निर्देशक महाराज कोइरालाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले कार्तिक महिनाको लक्ष्य महत्वाकांक्षी रहेकोले असुलीलाई प्राथमिकतामा राख्न आग्रह गर्दै असुलीको थप सम्भावना भएका अन्तःशुल्क, मूल्य अभिबृद्धि कर तथा अग्रिम कर कट्टीको क्षेत्रमा विशेष निगरानी राख्न सुझाव दिनुभएको थियो । त्यसैगरी ठूला तथा नियमित क्रेडिट विवरण पेश गर्ने करदाताको चालु वर्षको कारोबार परीक्षण गर्ने, मू.अ.कर तथा आयकर बक्यौता असुलीमा विशेष जोड दिने, पूनः कर निर्धारण गरी कर असुली तथा बेरुजु सम्परीक्षणमा विशेष ध्यान दिन एवं व्यापार मेला दर्ता तथा अनुगमन गर्ने कार्यमा जोड दिनुपर्ने उहांको भनाई रहेको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशकहरु मुकुन्दप्रसाद निरौला, शंकरप्रसाद खरेल, यज्ञप्रसाद ढुंगेल, आन्तरिक राजस्व विभागका निर्देशकहरु तथा विभाग अन्तर्गत काठमाडौंस्थित कर कार्यालयका सवै प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरुको उपस्थिति रहेको थियो ।