२०८३ साउन ९ शनिबार

नेपाल इन्भेष्टमेण्ट बैंकको ३१ औं साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

ई आर्थिक    मंगलबार, कार्तिक ७ २०७४
5.5K
Shares
नेपाल इन्भेष्टमेण्ट बैंकको ३१ औं साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

कार्तिक ७, २०७४ काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.कोे ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेज्यूको अध्यक्षतामा प्रर्दशनीमार्गस्थित राष्ट्रियसभा गृहमा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७३–७४ को बैंकको वित्तिय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारणसभामा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना संचालकहरुकोे निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडे निविरोध निर्वाचित हुनुभएको छ ।

साधारणसभाले २०७३–७४ सम्मको संचित मुनाफाबाट २०७४ आषाढ मसान्तमा कायम शेयर पूँजीको १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६२ करोड( पारित बोनस रु.१ अर्ब ३८ करोड सहित) पुगेको छ जुन नेपालका निजी बैंकहरुमध्ये सबैभन्दा बढी हो । त्यसैगरी बैंकको सञ्चिति रकम पनि बढेर रु ८ अर्ब ८ करोड पुगेको छ भने शेयरधनी कोष रकम रु. १८ अर्ब ७० करोड पुगेको छ । यस बंैकको शेयरधनी कोष पनि निजीक्षेत्रका बैंकहरुमध्ये कै सबैभन्दा उच्च रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले आ.व. २०७३–७४ मा रू. ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा कमाएको छ जुन अघिल्लो आ.व.२०७२–७३ भन्दा २६.७ प्रतिशतले बढी हो । त्यसै गरी खुदनाफा २२.१ प्रतिशतले बढेर रू.३ अर्ब ११ करोड पुगेको छ । बैंकको निक्षेप १५.७ प्रतिशतले बढेर रू. १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२.६ प्रतिशतले बढेर रू.१ खर्ब ६ अर्ब पुगेको छ ।

बैंकको खराब कर्जा (एन.पि.ए.) रेसियो गत वर्षको ०.६८ प्रतिशतभन्दा बढेर ०.८३ प्रतिशत पुगेपनि आउँदा बर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकको प्रयास जारी रहनेछ ।

बैंकिङ क्षेत्रलाई थप सक्षम तथा एकिकृत गर्नको निम्ति नेपाल राष्ट्र बैंकले लिएको मर्जर वा प्राप्तीको नितिलाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले एस डेभलपमेन्ट बैंक लि.लाई प्राप्ती गरी मिति २०७४ आषाढ २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको छ । एस प्राप्तीपश्चात् बैंकको काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको छ ।

यस वर्षदेखि बैंकले ग्राहकवर्गको सुविधा हेतु नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन कार्यको लागि सम्झौता गरी मासिक विद्युत महसुल बैंकबाटै भुक्तानी गर्न सबै शाखा तथा इ–बैंकिङमार्फत सेवा सुरुवात गरेको छ । साथै बैंकले सर्वसाधारणलाई सरकारी राजश्व संकलनमा सुलभता होस भन्ने उदेश्यले देशका विभिन्न ११ स्थानका यातायात व्यवस्था कार्यालयमा राजश्व संकलन केन्द्र खोली नयाँ सुविधाको थालनी गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने, समयानुकुल प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।

यस वर्षदेखि बैंकले एटिएम र पस (पीओएस) मेसिन दुबैमा प्रयोग गर्न आफ्नो कार्ड संजालमा मास्टर कार्डको सेवा सञ्चालनमा ल्याएको छ । साथै आफ्ना ४ लाखभन्दा बढी कार्ड प्रयोगकर्ताका डाटालाई अझ सुरक्षित बनाउन बैंकले विश्व विख्यात डाटा सुरक्षा मापदण्ड पीसीआईडीएसएस (पेमेन्ट कार्ड इन्डस्ट्रि डाटा सेक्युरिटी स्टैण्डर्ड सेवाको संस्करण प्रमाणिकरण प्राप्त गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दि बैंकर, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक बैंक अफ दि इयर उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट “क” वर्गको रेटिङ पनि २०६७÷०६८ देखि लगातार हासिल गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij