यादवको चुनौती सामना गर्न नसकेपछि प्रधानमन्त्रीले सहज रूपमा कात्तिकको पहिलो साता सरकार पुनर्गठन गर्ने सम्भावना छ । कात्तिक ५ गते मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले उक्त मितिबाट वर्तमान संसद् स्वतः विघटन हुन्छ । संसद् विघटनपछि सरकारबाट माओवादी हटेको भन्दै सरकारविरुद्ध अविश्वास नआउने र अन्य केही अप्ठ्यारालाई समेत के-कसरी निकास दिन सकिन्छ भन्नेमा देउवा गम्भीर रहेको दाबी बालुवाटार स्रोतले गरेको छ ।
स्थानीय तहको परिणाम सार्वजनिक भएपछि अत्तालिएका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले कांग्रेसमा प्रवेशको तयारी तीव्र रूपमा अघि बढाइरहेका छन् । तत्कालीन अवस्थामा देउवा कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा उनले महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । गच्छदारका लागि अर्को झट्का संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच बिहीबार भएको चुनावी तालमेलले दिएको छ । यी सबै झट्काको निकासका लागि गच्छदार आफ्नो नेतृत्वमा रहेको पार्टी नै कांग्रेससँग मिलाउने गरी गृहकार्यमा व्यस्त छन् ।
स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकीकरणको तयारी गरे पनि पार्टीको आन्तरिक गृहकार्य पर्याप्त नभएको र पदीय जिम्मेवारी नमिलेपछि केही समय लाग्ने भएको छ ।एकीकरणकै विषयमा गच्छदारले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग लामो छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने कांग्रेससँग पार्टी एकता नभई चुनावी तालमेल र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता मात्र हुने बताए ।
देउवा सरकारलाई समर्थन : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको सोमबार बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई समर्थन दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न राप्रपालाई उप्रधानमन्त्रीसहित सम्मानजनक स्थान दिने प्रतिबद्धता पाएपछि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । साउन २२ गते पशुपतिशमशेर राणाको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) गठन भएपछि सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिएको थियो । अन्नपूर्ण पोष्टबाट