लण्डन (बेलायत) । मङ्गलवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा कमी आएको छ । तेलको भाउ २ वर्षकै उचाइबाट ओर्लिएको हो । बजारमा कच्चा तेलको बढ्दो माग र भूराजनीतिक तनावहरूका कारण तेलको भाउले टेवा पाएको थियो । यससँगै पेट्रोलियम निर्यातक राष्ट्रको सङ्गठन (ओपेक) का सदस्य राष्ट्रले तेल उत्पादनमा थप कटौती गर्ने सङ्केतहरू आइरहेका कारणले पनि तेलको भाउ उकालो लागेको हो । उक्त दिनको शुरुआती कारोवारमा ब्रेण्ट क्रुडको भाउ ४ प्रतिशतले बढेर प्रतिब्यारेल ६० डलरमा उक्लिएको थियो । ब्रेण्ट क्रुडको यो भाउ सन् २०१५ को जुलाईयताकै उच्च हो । त्यसपछि भने ब्रेण्टको भाउ प्रतिब्यारेल ५८ डलर ५९ सेण्टमा ओर्लिएको थियो ।
त्यस्तै, सो मङ्गलवार अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इण्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ५२ डलरबाट ओर्लिएर ५१ डलर ८७ सेण्टमा आएको थियो । विगत ३ वर्षयता तेल बजारमा निकै नै उथलपुथल आइरहेको छ । यद्यपि तेल बजार अब भने सङ्गमस्थलमा आइपुगेको बीपीको एशियाली तेल व्यापार विभागका जानेट कोङले बताएका छन् । यससँगै चीनको तेल मागमा भएको वृद्धि, इराकबाट तेल आपूर्तिमा बाधा निम्त्याउने टर्कीको चेतावनीका कारण सोमवार तेलको भाउ बढेको थियो । टर्कीले उत्तरी इराकबाट विश्व बजारमा आपूर्ति हुने तेलको पाइपलाइन काट्ने बताएको छ । यदि यस्तो भएमा दैनिक ५ लाख ब्यारेल कम तेल बजारमा पुग्ने बताइएको छ ।
तेलको भाउ ६० डलरमा पुग्छ
विश्व बजारमा कच्चा तेलको सञ्चिति घट्दै गइरहेको र तेलको माग पनि यो वर्ष बढिरहेका कारण यो वर्षको अन्त्यसम्ममा तेलको भाउ प्रतिब्यारेल ६० डलरमा उक्लिने साउदी अरेबियाका ऊर्जा मन्त्रालयका एक पूर्वकर्मचारीले बताएका छन् । हाल बजारमा कच्चा तेलको दैनिक माग १५ लाख ब्यारेल रहेको छ । अर्को वर्ष माग झन् बढ्ने अनुमान पनि बढ्दै गएको छ । मार्चसम्ममा ओपेक तथा ननओपेक राष्ट्रले कच्चा तेलको उत्पादन कटौती गर्ने कामलाई निरन्तरता दिएका कारण यो वर्षको अन्त्य अथवा आगामी वर्षको शुरुआतमै तेलको भाउ प्रतिब्यारेल ६० डलरमा पुग्न सक्ने इब्राहिम मुहानाको अनुमान छ । उता तेल इण्भेण्टरिज पनि घट्ने क्रम जारी नै रहेको पाइएको छ । ‘प्रमुख तेल उत्पादकहरूले गरेको प्रतिबद्धता र उत्पादन कटौती सम्झौताको म्याद थप गर्ने चाहनाका कारण बजारमा व्यावसायिक तेल सञ्चिति निरन्तर घटिरहने र तेलको मूल्य विस्तारै उकालो लाग्ने मेरो विश्वास छ,’ मुहानाले भने ।
यसै क्रममा, ओपेक, रुस तथा अन्य तेल उत्पादक राष्ट्रहरूले यो वर्षको शुरुआतयता दैनिक १८ लाख ब्यारेलले तेल उत्पादन घटाइरहेका छन् । यसले विगत ३ महीनाभित्र तेलको भाउ १५ प्रतिशतले बढाउन सहयोगसमेत गरेको बताइएको छ । उत्पादन कटौतीले बजार तथा तेलको भाउमा चाहिएको प्रभाव पार्न शुरू गरिसकेको ओपेकले बताएको छ ।
स्रोत : अभियान