२ असोज, काठमाडौं । सरकारले नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुसार खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने ठाडाे प्रस्ताव क्याबिनेटमा लगेका थिए । बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले काममा असहयाेग गर्ने र गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई पदमुक्त गरिएको बताए ।
संसद्को विभिन्न समितिले अनियमितताको आरोप लागेका खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
खड्कामाथि पेट्रोलियम पदार्थ भण्डारणका लागि देशका विभिन्न ठाउँमा जग्गा खरिद गर्दा ६ गुणासम्म बढी मूल्य बनाएको आरोप लागेको छ।