२ असोज, काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले दशैं लगत्तै आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले असोज १८ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
१०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २ प्रतिशत शेयर कर्मचारीको लागी र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागी छुट्याइएको छ । यसआधारमा, कर्मचारीले ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुले ९ हजार ५०० कित्ता शेयर पाउनेछन् । बाँकी रहेको शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । सपोर्टको आइपीओ असोज २३ सम्म भर्न पाइनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा सपोर्टको प्रमुख कार्यालय इटहरी उपमहानगरपालिका–२६ सुनसरीबाट आवेदन दिन पाउनेछन् ।
त्यसैगरी, धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सक्नेछन् ।
हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ । सपोर्टको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।