२०८३ साउन ९ शनिबार

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

ई आर्थिक    सोमबार, भाद्र १९ २०७४
2.8K
Shares
लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

१९ भदौ, सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् ।

बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधवारदेखि उडान अवरुद्ध भएको र शनिवार बिहान केही समय मौसम सफा हुँदा दुईओटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

आइतवार पनि मौसम खराबीका कारण कुनै पनि उडान हुन सकेन । आइतवार विभिन्न विमान कम्पनीले गरी १६ ओटा उडान तालिका राखेका थिए । उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौंमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् ।

पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताए ।

अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करीब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । केही पर्यटक दोलखाको जिरी हुँदै पैदल मार्ग र केही पर्यटक सदरमुकाम सल्लेरीसम्म सडक मार्गबाट आएर त्यहाँबाट पैदल हिँड्ने गरेका छन् । तर पैदल मार्गमा विभिन्न समस्या हुने गरेका कारण धेरैको रोजाइ लुक्ला विमानस्थल नै हुने गरेको छ ।

बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरैपटक धोका दिने गरेको छ । यदि लुक्ला विमानस्थलको विकल्प सडक नजिकमा भए पर्यटकलाई सहज हुने व्यवसायी जाङ्बु शेर्पा बताउँछन् ।

लुक्लाबाट सडक मार्ग भेट्न कम्तीमा तीन दिन हिँड्नुपर्छ । यही समस्या बारम्बार दोहोरिने गरेका कारण सल्लेरीदेखि लुक्लाभन्दा केही तल सुर्केसम्म सडक निर्माण काम शुरु भएको पाँच वर्ष बितिसक्दा पनि एक तिहाई कामसमेत भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij