१५ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण बिहीवार दिनभर यातायात अवरुद्ध हुने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करीब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ ।
एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताएका छन् । सडक भासिएका ठाउँमा सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।
सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि बिहीवार बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ ।
पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि बुधवार साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस