१५ भदौ, काठमाडौं । पाँच वटा वाणिज्य बैंक,केही बीमा कम्पनी र केही इन्भेष्टमेन्ट कम्पनीहरुको संयुक्त लगानीमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको नाममा पूर्वाधार विकास बैंक खुल्ने भएको छ ।
देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने मुख्य लक्ष्यसहित खोलिन लागिएको उक्त बैंकको औपचारिक स्थापनाको लागि बुधबार राष्ट्र बैंकमा निबेदन दर्ता गरिएको छ।
हिजो सम्पन्न एक बिशेष कार्यक्रममा प्रस्तावित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा.विमल कोइराला नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा बैंकको आवश्यक कागजातहरु हस्तान्तरण कार्य सम्पन्न भएको छ ।
प्रस्तावित बैंकको चुक्तापुँजी २० अर्ब रहेको छ । बैंकमा नेपाल सरकारकोे १० प्रतिशत सहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समुहमा ४० प्रतिशत शेयर रहेको छ ।
हाल संस्थापक समुहमा विभिन्न बैंक तथा बिमाकम्पनीहरु लगायत प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाका निवेदन दर्ता गरिएको छ ।
प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।
प्रस्तावित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृतिलई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।