८ भदौ, काठमाडौं । पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्ष भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो ।
विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालका नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो । गत वर्ष असार २ देखि असोज २७ सम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको थप सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लिखित उक्त सेयर श्रुति अग्रवालका नाममा किनिएको देखिन्छ ।
***
स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुछिएको औषधि कम्पनीको नाम भेटियो । प्रिमो सेक्युरिटिजबाटै एसआर ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ ।
***
प्रिमोबाटै सुधा अग्रवालका नाममा विभिन्न मितिमा ४ करोड ६४ लाख रुपैयाँको सेयर बिक्री भएको छ । शंकाको घेरामा रहेको सनग्लो इन्भेस्टमेन्ट नामको अर्को कम्पनीबाट ५४ लाख ४६ हजार रुपैयाँ सेयर बिक्री भएको देखिन्छ । त्यसैगरी अर्का ‘शंकास्पद व्यक्ति’ भिवान अग्रवालका नाममा २ करोड ५८ लाख रुपैयाँको सेयर खरिद भएको छ ।
***
गत वर्ष प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोले काठमाडौंको एसआर ल्याबरोटरी, ललितपुरको आर्या फर्मास्युटिकल्स र धादिङको टौरस फर्मास्युटिकल कम्पनीमा एकसाथ छापा मार्यो । ती कम्पनीले औषधि बनाउन आयात गरेको लागूऔषधको कच्चा पदार्थ अन्यत्र बिक्री गरेको पत्ता लाग्यो । ब्युरोका अनुसार औषधि बनाउने भन्दै नेपाल भित्र्याइएको ‘प्रिक्रसर केमिकल्स’ लागूऔषध कारोबारीलाई बेचेर कम्पनीहरूले ४ अर्बभन्दा धेरै आर्जन गरेको देखिन्छ । यति गम्भीर मुद्दामा ब्युरोले उनीहरूको खातामाथि सतही अनुसन्धान गरेर औपचारिक प्रक्रिया त पूरा गर्यो तर उजुरीमै समावेश ठूलो कारोबारको विवरण नष्ट गरियो । मुद्दा कमजोर बनाएको आरोपमा सरकारी वकिलहरू कारबाहीमा परे । मिलेमतोमै प्रहरी अनुसन्धान फितलो पारिएको खुल्दै गएको छ ।
कारोबार नै हेरिएन
एउटै सेयर ब्रोकर कम्पनीबाट बारम्बार कारोबार गरेका व्यक्तिमध्ये केहीको नाम गत वर्ष लागूऔषध विवादमा मुछिएको कम्पनी र सञ्चालकका नामसँग हुबहु मिल्छ । औषधि उत्पादक एसआर ड्रग आफैं सेयर कारोबारमा संलग्न देखिन्छ । श्रुति अग्रवाल त्यसकी सञ्चालक हुन् । ब्युरो स्रोतका अनुसार पुष्पा, सुधालगायत एसआर सञ्चालकका नातेदार हुन् ।
सेयर कारोबारमा नाम जोडिएकी पुष्पा सञ्जय अग्रवालकी र सुधा मधुसूदन अग्रवालकी श्रीमती हुन् । अर्का कारोबारी भिवान श्रुति र अमित अग्रवालका छोरा हुन् । ठूलो संख्यामा सेयरलगायत लगानी र कारोबार हुँदासमेत मिलेमतोमा यो तथ्य लुकाएको भेटिएको छ । यीबाहेक आयाम, आशिष तथा स्वातीका नाममा समेत सेयर रहेको प्रहरीस्रोतले जनायो । लागूऔषध विवादमा मुछिएपछि यी सञ्चालकले आफ्नो र कम्पनीका नाममा रहेको सबै सेयर बेचिसकेका छन् । औषधि उत्पादक कम्पनीले आफ्नो आम्दानी सेयरमा लगानी गरेको सूचना ब्युरोलाई नभएको होइन । स्रोतका अनुसार ब्युरोले सूचना लुकाएकै कारण मुद्दा कमजोर हुन पुग्यो ।
‘लागूऔषधमा भएको अनियमितता, तिनका सञ्चालकको नामावली र उनीहरूले गरेको लगानीको विवरणसमेत हामीकहाँ उजुरीका रूपमा आएको रहेछ,’ उच्च प्रहरी अधिकारीले कान्तिपुरसित भने, ‘तर ब्युरोका तत्कालीन उच्च अधिकारीको आदेशमा लागूऔषध अनुसन्धान ब्युरोमा आएको सम्पत्ति र लगानीको विवरण नष्ट गरियो । अन्यत्र उनीहरूको सम्पत्ति र कारोबार खोजेजस्तो गरेर केही नभेटिएको भनी आरोपपत्र तयार गरियो ।’
एसआर, आर्या र टौरस कम्पनीका सञ्चालकमध्ये केही साझेदार छन् भने अरू नजिकका नातेदार हुन् । तीमध्ये एसआर र टौरस सञ्चालकको ठूलो कारोबार प्रहरीकै मिलेमतोमा लुकाइएको हो । केही सरकारी वकिलकै मिलेमतोमा मुद्दासमेत कमजोर बनाइयो । सञ्चालक तथा कम्पनीको खाता विवरण हेर्दा कारोबार अत्यन्त अपत्यारिलो देखिन्छ । अर्बौंको परिमाणमा कच्चा पदार्थ खरिद गरेको एसआरको खातामा २ लाख ८१ हजार रुपैयाँ मात्रै मौज्दात देखिएको थियो । जब कि उसले करोडौंमा गरेको सेयर कारोबार ब्युरोले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छैन ।
सञ्चालकहरूको विभिन्न बैंक खातामा रहेको एकमुष्ट रकमसमेत अपत्यारिलो छ । अमितका पाँचवटा खातामा जम्मा ६२ हजार रुपैयाँ मौज्दात छ । मधुसूदनको खातामा करिब ४ लाख तथा सञ्जयकुमार गुप्ताको खातामा एक लाख रुपैयाँ फेला परेको छ । आशिष अग्रवालका खातामा १८ लाख १४ हजार ९ सय ७८ मात्रै छ । प्रहरीले उनीहरूको सम्पर्क र सञ्जालमा रहेकाहरूको कारोबार र अन्य प्रमाण संकलन नै नगरी केवल सञ्चालकको खाता विवरण मात्रै उल्लेख गरेको हो ।
सरकारी वकिल पनि
मुद्दा कमजोर बनाएको आरोपमा महान्यायाधिवक्ता कार्यालयले तीन सरकारी वकिलमाथि प्रक्रिया अघि बढाए पनि एक जना मात्रै कारबाहीमा परे । काठमाडौंका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई मन्त्रिपरिषद्ले गरेको निलम्बन सर्वोच्च अदालतले यथास्थितिमा राखेको छ । उनलाई महान्यायाधिवक्ता कार्यालयले डोटी सरुवा गरेको छ । उस्तै आरोपमा मुछिएका अरू दुई जना भने कारबाहीमा परेनन् । ललितपुरका सरकारी वकिल ईश्वरीप्रसाद बञ्जाडे पनि विवादमा तानिएका थिए । स्पष्ट नाम, ठेगाना खुलेका व्यक्तिलाई समेत उनले ‘नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको’ उल्लेख गरी उन्मुक्ति दिएको भेटिएको थियो । रतनलाल संघाई र मोहित हलानसहित आठ जनालाई प्रतिवादी बनाइएको आर्या फर्मा ल्याबको लागूऔषध मुद्दामा शंकरलाल हलानबारे उनले द्वैध अर्थ लाग्ने विवरण उल्लेख गरेका छन् ।
‘शंकर हलानको प्रस्ट नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको हुँदा पछि यकिन खुलेका बखत पूरक अभियोगपत्र पेस गरिने’ आरोपपत्रमा भनिएको छ । तर, आरोपपत्रकै अभियुक्तहरूका नाममा भने ‘दुगरमल हलानको नाति, शंकरलाल हलानको छोरा, पर्सा वीरगन्ज उपमहानगरपालिका १३ आदर्शनगर ठेगाना भएको आर्य फर्मा ल्याब प्रालिका डाइरेक्टर भनी नागरिकता नम्बरसहित मोहित हलान’ को विवरण उल्लेख थियो । धादिङको धार्केमा पनि यिनै सञ्चालकहरूको टोरस नामक औषधि उत्पादक कम्पनीको मुद्दा कमजोर बनाएको आरोपमा धादिङका सरकारी वकिल कार्यालय प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारी विवादमा परे । ब्युरोले धादिङ प्रहरीमार्फत मधुसूदनबाहेकका चार जनाले नै टोरस कम्पनीमार्फत रासायनिक पदार्थ लागूऔषधका रूपमा दुरुपयोग गरेको भन्दै सोही आरोपमा मुद्दा चलाउन राय दिएकामा अधिकारीले तीन जनालाई मात्रै मुद्दा चलाएका थिए । ‘गत वर्षको लागूऔषध रसायन दुरुपयोग घटनामा प्रहरीदेखि सरकारी वकिलसम्म कसैले पनि आफ्नो जिम्मेवारी सही रूपमा निर्वाह नगरेको देखिन्छ,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘प्रहरीको व्यवहारमाथि अनुसन्धान भएको छैन भने सरकारी वकिलमाथि अरू अनुसन्धानसमेत बीचैमा रोकिएका छन् ।’
भिडियो पनि गायब
ब्युरोले ‘स्युडोइफ्रिडन’ को अवैध कारोबारमाथिको अनुसन्धान बारा, सिमरामा फ्याक्ट्री रहेको आर्या फर्माबाट सुरु गरेको थियो । दोस्रो चरणको अनुसन्धानमा मात्रै ब्युरोले एसआर र टौरसमा छापा मारेको थियो । यसबीच प्रहरीले सुराकीका आधारमा कमलपोखरी सिटी सेन्टर नजिकै आर्या फर्मा ल्याब प्रालिका सञ्चालक दिलीप पण्डितलाई पनि पक्राउ गर्यो । पण्डितकै सूचनाका आधारमा पवन सांघाईले ललितपुरमा सञ्चालन गरेको प्लास्टिक फ्याक्ट्रीबाट ४ सय ७१ किलो ८८ ग्राम लागूऔषध बरामद भयो । अन्य कम्पनीमा छापा मार्दा पनि प्रहरीले पण्डितले दिएको सूचना उपयोग गरेको थियो ।
पण्डितले बयान फेर्न सक्ने आशंकामा ब्युरोले भिडियोमा समेत रेकर्ड गरेको थियो । स्रोतका अनुसार बयानमा पण्डितले औषधि व्यवस्था विभागका केही उच्च अधिकारी साथै अन्य केही सरकारी अधिकारी अवैध कारोबारबारे जानकार रहेको बताएका थिए । उनले ती अधिकारीसँगकै मिलेमतोमा ठूलो परिमाणमा कच्चा पदार्थ भित्र्याउन सफल भएको तथ्यसहितको बयान दिएका थिए । ब्युरोले सुरुमा सोही बयानलाई अनुसन्धान प्रतिवेदनमा राख्ने र त्यसका आधारमा थप अध्ययन गर्ने योजना बनाएको थियो । पछि एकाएक भिडियो रेकर्ड गायब बनाइयो । प्रहरी प्रतिवेदनमा त्यसबारे कुनै उल्लेख भएन । ब्युरोकै उपल्ला अधिकारी उक्त भिडियो कहाँ छ भन्नेबारे अनभिज्ञता दर्साउँछन् । घटना छानबिन गरिरहेका महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी आवश्यक परे प्रहरी अनुसन्धानकै विषय पनि छानबिन हुने बताउँछन् ।
‘पक्कै केही गडबडी देखिन्छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘अहिले हाम्रो छानबिन सरकारी वकिलको भूमिकामा केन्द्रित छ तर घटनाको प्रकृति हेर्दा प्रहरी अनुसन्धानसम्म पुगेर छानबिन हुनुपर्ने देखिन्छ ।’ यो गम्भीर मुद्दामाथि उच्च प्रहरी अधिकारीहरूको पनि स्वार्थ बाझिएको छ । स्रोत भन्छ, ‘ब्युरोमा जिम्मेवारी बदली भएलगत्तै यो मुद्दा फेरि ब्यँ‘ताउने प्रयास भएको थियो । सादा पोसाकका केही प्रहरी अधिकारी परिचालन गरी औषधि उत्पादक कम्पनी सम्बद्ध मान्छेमाथि निगरानी पनि बढाइएको थियो । तर, केही समयमै प्रहरी अनुसन्धानबाट फेरि पछाडि हट्यो ।’ आजको कान्तिपुर दैनिकबाट