७ भदौ, काठमाडौँ। साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ ।
क्षति भएको संरचना पुरानै अवस्थामा पुर्याउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ ।
नेपालमा साना प्रकोपका लागि पूर्वतयारी हुने भए पनि ठूलो परिमाणको क्षति पुर्याउने प्रकोपलाई न्यूनीकरण गर्न सरकारी योजना न्यून भएकाले यति ठूलो क्षति हुने गरेको सडक विभाग, योजना तथा डिजाइन महाशाखा प्रमुख दयाकान्त झाको भनाइ छ । ‘हाम्रो प्रयास जारी छ, तर पर्याप्त छैन,’ उनले भने ।
प्रतिकिलोमिटर सडक ३ देखि ५ करोड लागत
सडक इन्जिनियरहरूका अनुसार सडक मर्मत गर्नभन्दा नयाँ सडक निर्माण गर्नु सहज हुन्छ । सडक मर्मत गर्न देशभर जम्मा पाँचवटा मात्र निर्माण कम्पनी छन् । त्यसमा पनि पुल निर्माण गर्न कोही पनि चाहँदैन । किनकि यो जोखिमयुक्त हुन्छ । सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहका अनुसार नेपालमा ठाउँविशेष सडक निर्माण लागत फरकफरक छ । तर, न्यूनतम तीन करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँ लागतमा एक किलोमिटर सडक निर्माण हुन्छ । ‘हिमाली र पहाडी क्षेत्रमा केही बढी पर्छ भने तराईमा कम पर्छ,’ उनले भने । यो माटे सडक कालोपत्रे गर्दासम्मको प्रतिकिलोमिटर लागत हो ।
एक मिटर पुललाई २५ लाखसम्म
पुल निर्माण कुन ठाउँमा निर्माण गर्ने, कुन डिजाइनमा निर्माण गर्नेलगायतका विषयमा यसको निर्माण लागत निर्धारण हुने गरेको छ । तर, सडक विभागका अनुसार १ मिटर पुल निर्माण गर्न औसतमा न्यूनतम १५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँ आवश्यक पर्छ ।
पूर्ण रूपमा नयाँ बनाउनुपर्ने चार पुल
१. रुसले बनाइदिएको पुल क्षतिग्रस्त
पूर्वपश्चिम राजमार्गको सप्तरीमा पर्ने यस पुलको दायाँ पहुँच स्ल्याब र पाइप कल्भर्टमा क्षति पुगेको छ । अहिले एकतर्फी गाडी सञ्चालनमा रहेको छ । क्षति भएको स्थानमा ग्याबिन पर्खाल, माटो भर्ने र ग्राभेलको काम सुरु गरिएको छ । यो रसियाले नेपाललाई बनाइदिएको पुल हो । यसको आयु सम्पन्न भइसकेको र नयाँ निर्माणका लागि सडक विभागले तयारी गरिरहेको सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहले बताए । सामान्यतया एउटा सडक पुलको आयु न्यूनतम ४० वर्षदेखि अधिकतम ५० वर्ष हुन्छ ।
२. धनुषा–महोत्तरी सीमा पुलमा क्षति
धनुषा र महोत्तरीको सिमानामा रहेको यस पुलमा क्षति भएपछि एकपटकमा एउटा गाडी मात्र पार गर्न दिइएको छ । पुलको एउटा खम्बा क्षतिग्रस्त भएको छ । यो पुल पनि मर्मत हुन नसक्ने र नयाँ निर्माण गर्नुपर्ने गरी क्षति भएको पुल हो । रसियाले नै निर्माण गरिदिएको यो पुल पनि आयु सकिएको पुल हो ।
३. पुलको आधारस्तम्भ नै भत्कियो
पूर्वपश्चिम राजमार्ग र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने यो पुलको आधारस्तम्भ (फाउन्डेसन) नै भत्किएको छ । अहिले यो सडक भएर सवारी सञ्चालन भएका छैनन् । यो पुल निर्माणाधीन अवस्थामै रहेको थियो । यो पुल के कारणले भत्कियो भन्ने विषयमा अध्ययन गरेर मात्र थप बताउन सकिने सडक विभागको भनाइ छ ।
४. माडी चितई खोला पुल
डिभिजन सडक कार्यालय भरतपुरअन्तर्गत रहेको यो पुल भाँचिएको छ । चितवनको बरुवा बजारमा ३ स्पानको पुल भाँचिएर सडक अवरुद्ध रहेको छ । यो पुलबारे पनि थप अध्ययन गरेर मात्र बताउन सकिने विभागले जानकारी दिएको छ ।
बाढीले जीवन भयावह छ, यातायात पनि अवरोध छ
वीरबहादुर बलायर
मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
बाढी र पहिरो प्रभावित तराई क्षेत्रको स्थलगत अवलोकन गरेर चार दिनपछि हिजो मात्र फर्किएँ । त्यहाँको जीवन भयावह छ । यातायातमा अवरोध छ । विशेषगरी प्रदेश नम्बर २ का जिल्लामा धेरै समस्या छ । त्यही क्षेत्रमा चाँडै नै चुनाव पनि हुँदै छ । अहिले नवनिर्माणका लागि चार अर्ब रुपैयाँ उपलब्ध गराए पनि स्थानीय तहबाट पूर्वाधार बन्ने देखिँदैन । त्यसकारण सरकारले केन्द्रबाटै साथ सहयोग गरेर दीर्घकालीन रूपमा निर्माण गर्नुपर्ने देखिन्छ । मैले राखेको प्रस्तावअनुसार विषय अघि बढ्यो भने ८ देखि १० दिनभित्र नै सडकमा सवारी आवागमनलाई सूचारु बनाउने प्रतिबद्धता व्यक्त गर्छु ।
काँकडभिट्टा–बुटवलका पुल चार लेनका बनाउँछौँ
अर्जुनजंग थापा
पुल महाशाखा प्रमुख, सडक विभाग
बाढीपहिरोले पुललाई भन्दा पनि पुलको पहुँच भएका सडकलाई अधिक क्षति पुर्याएको छ । अहिले क्षति पुगेका पुलको मर्मत यही वर्षको हिउँदमा गरिसक्नेछौँ । अरनिको राजमार्गअन्तर्गत पर्ने सिन्धुपाल्चोकस्थित लार्चाको पुलमा मात्र ४ करोड रुपैयाँको क्षति पुगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतका दुधौरा, धन्सार र रातु पुलबाट हुने यातायात सञ्चालन डाइभर्ट गरेर भए पनि सञ्चालन गर्नेछौँ । बुटवलदेखि काँकडभित्तासम्मका पुल ४ लेनको बनाउने तयारीमा छौँ । झन्डै ५० वटा पुलको मर्मत पनि गर्दै छौँ । आजको नयाँ पत्रिका दैनिकबाट