३१ साउन, काठमाडौं । अघिल्लो बर्षको तुलनामा यस बर्ष स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।
चुक्ता पूँजी वृद्धिको अनुपातमा लगानी बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४६ पैसाले गिरावट आएर ३४ रुपैयाँ ५० पैसामा झरेको छ । अघिल्लो बर्ष बैंकको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा रहेको थियो ।
स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षमा बोनस तथा एफपीओ विक्रीबाट चुक्ता पूँजी ४ अर्ब पुर्याएको छ । एता बैंकको रिजर्भ कोषमा भने ८ अर्ब १५ करोड ८८ लाख ३६ हजार रुपैयाँ जम्मा भइसकेको छ । अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी ४२.४२ प्रतिशतले र रिजर्भ कोष ७१.३६ प्रतिशतले बढोत्तरी भएको छ । चार्टर्डको गत चैत १ गतेदेखि ४ गतेसम्म बिक्री गरेको २५ लाख ५८ हजार १४० कित्ता एफपीओ तथा बोनसबाट चुक्ता पुँजी बढेको छ । यसैगरी, एफपीओ बिक्रीबाट आएको प्रिमियमले रिजर्भ कोषलाई भारीमात्रमा बढाउन मद्दत गरेको हो । जसले गर्दा रिजर्भ कोष मजबुत बनेको देखिन्छ ।
बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा जम्मा ८ करोड ९४ लाख बढी हो । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६.९२ प्रतिशत मात्रै बढी हो । ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंले ३९ अर्ब २० करोड रुपैयाँ कर्जा तथा १५ अर्ब ७६ करोड लगानी गरेको छ ।
निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको स्टाण्डर्ड चार्टर्ड बैंकले ३६ करोड १७ लाख संम्भावित जोखिम व्यवस्था गर्दा २२ करोड ९९ लाख संम्भावित जोखिम कोषबाट फिर्ता गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ३०३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.५२ गुणा रहेको छ ।