२२ साउन, काठमाडौं । एभरेष्ट बैंकको ३३.३३ प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन हो।
बैंकले ३:१ अनुपातमा (प्रत्येक ३ कित्ता सेयर बराबर थप १ कित्ता) शेयर बिक्री खुला गरेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता बिक्री खुला गरेको हो । एभरेष्टको हकप्रदमा असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको एभरेष्टले ३३.३३ प्रतिशत हकप्रद ल्याएको हो । यसअघि बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस शेयर पनि दिइसकेको छ ।
यसबाहेक बैंकले मर्ज र एक्वायरको विकल्प पनि खुला राखेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ हुनेछ । तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४ पैसा छ ।