१५ साउन, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला गरेको छ ।
आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो । न्यायाधीसद्वयले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै मुद्दाको फैसला सुनाएका छन् ।
गत बैशाख १४ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो । मतगणना कार्य अन्तिम चरणमा पुगेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भएको थियो । करिब ६३ दिनको पर्खाइपछि उक्त विवाद टुंगिएको छ ।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगले १९ नं. वडामा पुनः मतदान गर्न चितवनका निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । तर, एमालेका सोही वडाका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चामा रिट निवेदन दायर गरेका थिए । त्यतिबेला उनको रिटमाथि फैसला गर्दै सर्वोच्चका न्यायाधिश चोलेन्द्र शम्शेर जवराले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । यता मतपत्र च्यातिएपछि निर्वाचन आयोगको पदाधिकारी बैठकले स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० अनुसार निर्णय गरेको थियो ।
मतपत्र कसले च्यातेको भन्ने विषयमा एमाले र माओेवादीले एकआपसमा आरोपप्रत्यारोप गरिरहेका छन् । तर, प्रहरीले मतपत्र च्यातेको अभियोगमा माओवादीका मतगणना प्रतिनिधि द्रोर्ण शिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । अहिले उनीहरु रिहा भइसकेका छन् ।
भरतपुर महानगरमा माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य रेणु दाहाल र एमालेका नेता देवी ज्ञवालीबीच चर्को प्रतिस्पर्धा भइरहेको थियो । सुरुमा ज्ञवालीले करिब ४ हजारको मतान्तरले अग्रता लिइरहेका थिए । १९ नं. वडाको मतगणना गर्नु पहिले रेणुले मतान्तर घटाएर ७८४ मा झारेकी थिइन् । अन्तिम २० नं. वडाको मतगणना सम्पन्न भएपछि देवी र रेणुमा कसले महानगर हाँक्छन् भन्ने विषयमा छिनोफानो हुँदै थियो तर १९ नं. वडाको मतगणना सम्पन्न हुँदानहुँदै मतपत्र च्यातिएर नयाँ बखेडा निस्किएको थियो ।