१५ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले झापा जिल्लाको गौरादहमा उपशाखा कार्यालय बिस्तार गरेको छ । कार्यालयको औपचारिक समुद्घाटन बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले गर्नुभयो ।
कार्यक्रममा कार्कीले उप शाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताउनुभयो । साथै उहाँले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताउनुभयो । नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिएको बताउनुभयो । उहाँले चालु आ.व. भित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताउनुभयो ।
साथै उहाँले कम्पनीका आम अभिकर्ता एवं कमचारीहरुले बीमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दीगो व्यवसाय हासिल गर्ने तर्फ कार्य गर्दै आएको फलस्वरुप कम्पनीले यस क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।
यसैगरि, उहाँले कम्पनीले दावी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दावी भूक्तानी प्रदान गर्दै आईरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने बताउनुभयो ।
कार्यक्रममा गौरादहका नगरपालिका प्रमुख रोहित कुमार साहले बीमाको महत्वका बारे चर्चा गर्नुहुदै गौरादह नगर क्षेत्र भित्रै पनि बिमा जागरणमा कमी महशुस गरेकोले बीमा क्षेत्रको बिकासको लागि नगर प्रमुखको रुपमा आफूले हरसम्भव प्रयास गर्ने एवं कम्पनीले गर्ने बीमा जागरण गतिबिधिमा नगरपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो ।
कम्पनीले गत आ.व.२०७३।०७४ मा कुल बिमाशुल्क आम्दानी करिब रु. १२ अर्ब, जीवन बीमा कोष करिब रु.४० अर्ब तथा कुल लगानी करिब रु. ४७ अर्ब भन्दा बढि हासिल गरि समग्र जीवन बीमा क्षेत्रमा अग्र स्थान हासिल गर्न सफल भएको छ ।