१० साउन, नयाँ दिल्ली । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार राष्ट्रपति पद शपथ ग्रहण गरेका छन् ।
भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार रहेका उनी ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित भएका थिए ।
भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहण पछि मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।
यसै अवसरमा नयाँ भारतीय राष्ट्रपतिको तलब र उनले पाउने सेवा सुविधाबारे भारतीय सञ्चारमाध्यमले निकै चासोका साथ प्राथमिक्ता दिएका छन् ।
तलबः
भारतीय राष्ट्रपतिलाई मासिक १ लाख ५० हजार भारु तलब दिइन्छ । यसलाई पाँच लाख भारुमा बढाउनु पर्ने माग गरिएता पनि प्रधानमन्त्री कार्यालयबाट स्विकृृती पाइसकेको छैन ।
सेवा-सुविधा यस प्रकार छन्:
राष्ट्रपति भवनः
राष्ट्रपति भवन नयाँ दिल्लीस्थित भारतको राष्ट्रपतिको आधिकारिक आवास हो । पाँच एकडमा फैलिएको उक्त भवनमा पाँचजना सेक्रेटरियल स्टाफसहित २ सयजना कर्मचारी राखिएका छन् ।
छुट्टी मनाउनेः
भारतीय सरकारले राष्ट्रपतिलाई दुई पटक छुट्टी मनाउन पाउने व्यवस्था मिलाएको छ । एक हैदराबादको राष्ट्रपति निलायममा र अर्को सिमलास्थित रिट्रिट बिल्डिङमा ।
यात्राः
राष्ट्रपतिले यात्रा गर्दा अन्य २५ वटा कार सँगै कुद्नेछ । राष्ट्रपति प्रणव मुखर्जीका लागि मर्सिडिज–बेन्ज एस६०० छानिएको थियो । यसका साथै, उनलाई विभिन्न अंगरक्षकले सुरक्षा दिनेछन् । उनले यात्रा गर्दा ८६ जना घोडसवार सुरक्षाकर्मीले उनलाई सुरक्षा दिनेछन् ।
राष्ट्रपति र उनका जीवनसाथीले संसारको कुनै पनि स्थानमा निःशुल्क घुम्न पाउने व्यवस्था मिलाइएको छ ।
मर्मतको बजेटः
राष्ट्रपतिलाई मर्मत बजेटस्वरुप ३० करोड छुट्याइएको हुन्छ । साथै, राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रम, भोज, भेटघाटका लागि छुट्टै व्यक्तिगत बजेट पनि छुट्याइएको हुन्छ । राष्ट्रपतिको दैनिक खर्च पनि यसैमा समावेश हुन्छ ।
अवकाशपश्चात् पाइने सुविधाः
नियम अनुसार राष्ट्रपतिले पेन्सनस्वरुप मासिक ७५ हजार भारु दिइन्छ । राष्ट्रपतिदलाई सुसज्जित भवनमा निःशुल्क बस्ने व्यवस्था मिलाइएको हुन्छ । राष्ट्रपतिलाई दुई ल्याण्डलाइन र मोबाइल फोन उपलब्ध गराइएको हुन्छ जसको सम्पूर्ण बिल सरकारले उठाउने गर्दछ । सेक्रेटरीसहित पाँच व्यक्तिगत स्टाफ उनको सेवामा खटाइन्छन् ।
साथै, राष्ट्रपतिलाई सरकारी कार र स्टाफ खर्चस्वरुप ६० हजार भारु दिइन्छ । साथै प्रत्येक महिना २ सय ५० लिटर पेट्रोल दिइन्छ । यदि राष्ट्रपतिले सरकारी गाडीको सट्टा आफ्नै कार प्रयोग गर्न चाहे सरकारले ड्राइभर खर्च पनि उठाउने गर्दछ ।
सेवा निवृत्त भइसकेपश्चात् पनि राष्ट्रपतिका लागि हवाई वा यात्राका कुनै पनि माध्यम प्रयोग गर्दा शुल्क लाग्दैन । उनीसँगै एक साथीको खर्च पनि सरकारले नै उठाउने गर्दछ ।