९ साउन, काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को कार्यसमिति भित्र चरम विवाद देखिएको छ ।
विद्यान संशोधन र प्रमुख कार्यकारी अधिकृतको पदावधी थप गर्ने विषयमा अध्यक्ष र कोषाध्यक्ष सहित केही पदाधिकारीहरुले मनोपोली गर्न थालेपछि विवादले चर्किएको नाट्टा विशेष स्रोतले जनाएको छ ।
बिबादकै कारण लामो समय देखि कोरम नपुगेर कार्यसमितिको नियमित बैठक समेत बस्न सकेको छैन । अध्यक्ष र कोषाध्यक्ष सहितका केही पदाधिकारी अघिल्लो साधारण सभाबाट बिद्यान संशोधन प्रस्ताव असफल भइसकेपछि पुन विशेष साधारण सभा गराएरै भएपनि विद्यान संशोधन गराउने पक्षमा तीब्र लविङ्ग गरिरहेका छन् । त्यस्तै लामो समय देखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका डाक्टर हरी शर्माको पदावधी थप नगर्ने पक्षमा उनीहरुको अडान रहेको छ ।
तर अन्य सदस्यहरु भने लामो समय देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका शर्माको नाट्टालाई यहाँ सम्म ल्याउन महत्वपूर्ण भूमिका रहेको भन्दै तत्काल हटाउन नहुने र साधारण सभाबाट असफल भइसेकको विद्यान संशोधन गर्न नहुने पक्षमा छन् ।
त्यस्तै विभिन्न सभा, समारोह र मेला–महोत्सवमा पनि अध्ययक्षले आफु र आफ्ना नजिकका आसेपासेलाई मात्र बिदेश सयरमा पठाउने गरेको भन्दै अन्य सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।