२०८३ साउन १० आइतबार

किन भयो पहिलो पटक हुन लागेको सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द ?

ई आर्थिक    आइतबार, साउन ८ २०७४
3K
Shares
किन भयो पहिलो पटक हुन लागेको सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द ?

८ साउन, भक्तपुर। पहिलो पटक आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा रद्द भएको छ ।

परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई आज सो परीक्षा रद्द भएको हो ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रतिव्यक्ति रु ५५ लिन लागेकाले परीक्षार्थीले सोको विरोध गरेका थिए । परीक्षा दिन धुलिखेल, पनौती, बनेपा र भक्तपुरलगायत ठाउँबाट ३१९ जना आएका थिए ।

कार्यालय र प्रालिबीच निःशुल्क ट्रायल सेन्टर सञ्चालन गर्न भएको लिखित सम्झौतानुसार भक्तपुरमा प्रयोगात्मक परीक्षा हुने भनिए पनि यहाँ नहुने भनी कार्यालयले परीक्षार्थीलाई काठमाडौँस्थित मीनभवन, ट्रली बस क्षेत्रमा जान आह्वान गरेको थियो ।

यातायात व्यवस्था विभागले ट्रायल दिने परीक्षार्थीसँग प्रतिव्यक्ति रु ५५ शुल्क यामाहा मोटरसाइकलबाट ट्रायल परीक्षा दिन दिएको निर्देशन विपरीत अन्य व्यवसायी आई परीक्षार्थीलाई निःशुल्क नै सवारी साधन उपलब्ध गराउन भनेपछि विवाद भएको थियो ।

बिहान ७ बजेदेखि प्रयोगात्मक परीक्षा सुरु हुने भएपछि ५ बजेदेखि लामबद्ध बसेका परीक्षार्थीलाई विवाद र तनावका बीच ९ बजे यहाँ हुने परीक्षा रद्द भएको जानकारी गराउँदै यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख अनोज घिमिरेले विगतमा जस्तै काठमाडौँको मीन भवनमै परीक्षा दिन जान आग्रह गरेपछि परीक्षार्थी नाराबाजी गर्दै फर्किएका थिए ।

भक्तपुर र भक्तपुरपूर्वका बासिन्दालाई षड्यन्त्रपूर्वक फेरि काठमाडौँंमै परीक्षा दिन पठाउन लागिएको आरोप लगाउँदै उनीहरुले भक्तपुरमै प्रयोगात्मक दिन पाउनुपर्ने माग गर्दै एक घण्टा नाराबाजी गरेका थिए । प्रयोगात्मक परीक्षा दिन बिहान ५ बजेदेखि लामबद्ध बसेकी काभ्रे पनौती नगरपालिका– ४ खरिबोटकी सुनिता बञ्जाराले लिखित परीक्षा उत्तीर्ण गरेको दुई महिनापछि प्रयोगात्मक परीक्षाको पालो आए पनि परीक्षा दिन नपाएकामा आक्रोश पोख्नुभयो ।

सेन्टरका सञ्चालक निर्भयबाबु प्रसार्इंले नागरिकको सुविधा र सहजताका लागि सरकारलाई आफूले निःशुल्क ट्रायल सेन्टर उपलब्ध गराएको बताउँदै प्रयोगात्मक परीक्षा दिने नागरिकलाई सवारी साधनसमेत निःशुल्क उपलब्ध गराउन आफू तयार भएको बताउनुभयो ।

कार्यालय प्रमुख घिमिरेले भने आफू विभागको निर्णय र निर्देशक विपरीत जान नसक्ने बताउँदै निःशुल्क सवारी साधन उपलब्ध गराउने निर्णय आफूले गर्न नसक्ने बताउनुभयो । एक साताभित्र सवारी साधनका बारेमा अर्को बोलपत्र आह्वान भएपछि सो समस्या सुल्झने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij