२०८३ साउन ९ शनिबार

स्थानीय निकायमा सहकारीकर्मीको ताती, दर्जनौं सहकारीकर्मी बने मेयर उपमेयर, व्यवसायीकाे पनि राम्रै उपस्थीती

ई आर्थिक    शनिबार, साउन ७ २०७४
8.4K
Shares
स्थानीय निकायमा सहकारीकर्मीको ताती, दर्जनौं सहकारीकर्मी बने मेयर उपमेयर, व्यवसायीकाे पनि राम्रै उपस्थीती

साउन ७, काठमाडाैं  । करिब दुई दशक पछि भइरहेको स्थानीय निकायको निर्वाचनमा सहकारी क्षेत्रको ताती नै लागेको छ । यो निर्वाचनमा सहकारी क्षेत्र यस्तो क्षेत्र भयो जसले दर्जनौं सहकारीकर्मी स्थानीय निकायको नेतृत्व गर्ने अवसर मिलायो । सहकारीकर्मी जनप्रतिनिधि बनेर सहकारी क्षेत्रको प्रतिष्ठालाई उचो बनाउने काममा यो क्षेत्र उदाहरणीय बन्यो । दजनौं सहकारीकर्मी नगरपालिकाको मेयरमा, उपमेयर, गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा निर्वाचित भएका छन् । यति मात्रै होइन की एउटै सहकारीवाट ८० जनासम्म जनप्रतिनिधि बन्न चुनाबी प्रतिस्पर्धामा उत्रिए । एउटै सहकारीवाट दर्जन बढी सहकारीकर्मी उम्मेद्ववारले जितेर नयाँ रेकर्ड कायम गरे ।

यसरी देशभरबाट जित्ने सहकारीकर्मीहरु मध्ये सहकारीकर्मी कृष्णहरी थापाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट मेयर पद हाता पार्नुभएको छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थापा कांग्रेसका प्रतिद्वन्द्वीलाई पछि पार्दै मेयर बन्नुभएको हो । उहाँ संमृद्वि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । त्यस्तै सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार सहकारीकर्मी देवकुमार सुवेदी निर्वाचित हुनु भएको छ । स्थानीय वातावरण बहुउद्देश्यीय सहकारी संस्था लि. का उपाध्यक्ष रहेर सहकारीको क्षेत्रबाट सामाजिक सेवामा समर्पित सुवेदीले नेकपा एमालेका उम्मेदवार बालाराम शर्मालाई पराजित गर्दैै मेयर पदमा जित हासिल गर्नुभएको हो ।

त्यसैगरी सहकारीकर्मी रामेश्वर बोहरा काठमाडौंकै तारकेश्वर नगरपालिकाको मेयर पदमा निर्वाचित हुनु भएको छ । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका सञ्चालक बोहोरा तत्कालीन समयमा जनता बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध सञ्चालक समेत हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेका तर्फबाट सो नगरपालिकाको मेयर उम्मेदवार बन्नु भएको थियो ।

सहकारीकर्मी मोहनबहादुर बस्नेतले पनि मेयर पदमा विजय हासिल गर्नुभएको छ । नार्गाजुन नगरपालिकाको मेयर पदमा निर्वाचित बस्नेत सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व सञ्चालक हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।
त्यस्तै सहकारीकर्मी घनश्याम गिरी चन्द्रागिरी नगरपालिकाको मेयर पदमा निर्वाचित हुनु भएको छ । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक घनश्याम गिरी भारी मतले विजयी भएको थियो । गिरी पनि नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्थ्यो ।

त्यस्तै किर्तिपुर नगरपालिकामा पनि सहकारीकर्मी रमेश महर्जन निर्वाचित हुनु भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक समेत रहनुभएका महर्जन एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै किर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको हो ।
सहकारीकर्मी भूपराज अधिकारी गल्याङ नगरपालिकाको मेयर बन्नुभएको छ । नेपाल मौरीपालन केन्द्रिय सहकारी संघ लिमिटेडका कोषाध्यक्ष अधिकारी गल्याङ नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको हो । उहाँ नेकपा एमालेको तर्फबाट मेयर पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

विभिन्न दलको प्रतिनिधित्व गर्दै उपमेयर जित्ने सहकारीकर्मीहरु पनि प्रसस्तै हुनुहुन्छ । यसैवीच सहकारीकर्मी भीमकुमारी राउत उदयपुरको कटारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनु भएको छ । एमालेको तर्फवाट उम्मेदवारी दिनु भएकी राउत कटारीको स्थानीय जिवन उपयोगी बहुउद्देश्यीय शिप विकास सहकारी संस्थासँग आबद्ध हुनुहुन्छ । उहाँ सो संस्थाको पूर्वअध्यक्ष हुनुहुन्छ । सो संस्थामा ४ कार्यकालसम्म अध्यक्ष पदमा बसेर सहकारी अभियानमा योगदान पु¥याउनु भएकी राउत स्थानीय समाजसेवी पनि हुनुहुन्छ ।
त्यस्तै चितवन जिल्लाको कालिका नगरपालिकाको उपमेयरमा पनि सहकारीकर्मी कमला भट्टराई विजयी हुनु भएको छ । एमालेको तर्फवाट प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएकी भट्टराई पदमपुर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै सहकारीकर्मी जूना बस्नेत सूर्यविनायक नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभयो । बस्नेत महिला अभियान बचत तथा ऋण सहकारी संस्था बालकोटको शिक्षा तथा तालिम उपसमितिका सदस्य हुनुहुन्छ । नेशनल को–अपरेटर्स एलायन्स नेपाल, ललितपुर जिल्ला कार्यसमिति सदस्य मुना अधिकारी गोदावरी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँ नेपाली काँग्रेसको तर्फवाट उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै सप्तदेवका सेयर सदस्य भगवती नेपाल मेलम्ची नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी जिल्ला सहकारी संघ लिमिटेड मोरङका सल्लाहकार ताराबहादुर काफ्ले स्थानीय कानेपोखरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । सहकारीकर्मी रामचन्द्र दाहाल महांकाल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँ विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रणबहादुर तामाङ पनि खनियावास गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै उहाँ सो गाँउपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीका अध्यक्ष एवम नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका उपाध्यक्ष एकराज उप्रेती मनहरी गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको छ । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उप्रेती साना किसान कृषि सहकारी संघ लिमिटेड मकवानपुरका अध्यक्षसमेत हुनुहुन्छ ।

त्यस्तै सहकारीकर्मी सन्तोष गुरुङ गोरखा जिल्लाको उत्तरी क्षेत्रको धार्चे गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौंंको सामाखुसीस्थित अठारसय खोला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो ।

जिल्ला सहकारी संघ, काठमाडौंकी उपाध्यक्ष शोभा सापकोटा काठमाडौं महानगरपालिकाको वडा नं १४ को अध्यक्ष पदमा निर्वाचित हुुनुभएको छ । उहाँ काठमाडौंको एकमात्र महिला हुनुहुन्छ । काठमाडौंमा वडाध्यक्षको उम्मेदवारमा महिलालाई कुनै पनि पार्टीले सहभागी गराएका थिएनन् । नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो । सापकोटा हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सहकारीको सञ्चालकसमेत हुनुहुन्छ ।

धादिङको गजुरी गाउँपालिकाको उपप्रमुखमा सहकारीकर्मी सीता ढुङ्गाना विजयी हुनु भएको छ । पिस ह्याण्ड बचत तथा ऋण सहकारी संस्था काठमाडौंकी अध्यक्ष सीता ढुङ्गाना सो गाउँपालिकामा एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको हो ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य एवम् महिला उपसमितिका संयोजक पार्वती राणा मकवानपुरको भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ पनि नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभएको हो ।
त्यस्तै भरतपुर महानगरपालिकामा वडा नम्बर ७ को वडा अध्यक्षमा राजेन्द्रमणी काफ्ले विजयी भएका छन । काफ्ले चित्रवन साकोसका निबर्तमान अध्यक्ष हुन उनी एमालेका तर्फबाट उमेदवार बन्नु भएको थियो । त्यसैगरी जिल्ला सहकरी संघ सल्यानका अध्यक्ष तथा नेफ्स्कून फिल्ड कार्यालय दाङ व्यवस्थापन उप–समिति सदस्य केशब श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ नेकपा एमालेका तर्फबाट स्थानीय तह निर्वाचनका लागि शारदा नगरपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

सहकारीकर्मी रविन्द्र विक्रम हमाल बर्दघाट नगरपालिकाको वडा नं ४ को अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँ स्थानीय ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । त्यस्तै सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार रत्नबहादुर पौडेल रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं. ३ को अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको वडा नं. २ (शंखु) मा जिल्लाकै अगुवा सहकारीकर्मी ध्रुब घिमिरे निर्वाचित हुनु भएको छ । माओवादी केन्द्रको तर्फवाट उम्मेदवार बन्नु भएका यस अघि जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको अध्यक्षको समेत प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
सहकारीकर्मी मनोज घिमिरे तारकेश्वर नगरपालिकाको वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका लेखा समिति सदस्य घिमिरे एमालेका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । त्यसैगरी शिष्टाचार बचत तथा ऋण सहकारी लि. का अध्यक्ष मनोज ढुंगना गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।

काठमाडौंका अगुवा सहकारीकर्मी मनोज भण्डारी टोखा नगरपालिकाको ११ नं.वडामा सदस्यमा निर्वाचित हुनुभएको छ । जिल्ला सहकारी संघ काठमाडौंका कोषाध्यक्ष समेत रहनुभएका भण्डारी कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । त्यस्तै संघकै काठमाडौं क्षेत्र नं ६ का सदस्य तारा कडेल पनि सोही नगरपालिकाको सोही वडामा सदस्यमा विजय हासिल गर्नुभएको छ । उहाँहरु दुबै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै विजयी हुनुभएको हो ।

त्यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिकाको सदस्यमा सूर्य सहकारीका पूर्वसञ्चालक सोम मिश्र निवार्चित हुनुभएको छ ।
काठमाडौं बचत तथा ऋण जिल्ला सहकारी संघ (कास्कुन) का सञ्चालक पुरुषोत्तम नेपाल बूढानीलकण्ठ नगरपालिकाको १२ नम्बर वडाको सदस्य पदमा निर्वाचित हुनुभएको हो । एमालेको तर्फवाट प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएका नेपाल सप्तदेव बचत तथा तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हुनुहुन्छ ।

सहकारीकर्मी हरिरत्न गोर्खाली भक्तपुर नगरपालिकाको वडा सदस्यमा निर्वाचित हुनुभएको छ । भक्तपुरको सिद्धिगणेश साकोसका अध्यक्ष गोर्खाली नेपाल मजदुर किसान पार्टीका तर्फबाट खुला सदस्यमा निर्वाचित हुनुभएको हो ।
सप्तदेव सहकारीबाट चारजना निर्वाचित

सप्तदेव बचत तथा ऋण सहकारी संस्था लि.का ४ जना सहकारीकर्मी स्थानीय तहको विभिन्न पदमा निर्वाचित हुनुभएको छ । सप्तदेवका सेयर सदस्य भगवती नेपाल मेलम्ची नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ । सप्तदेवका अर्का सदस्य नवराज भट्टराई बूढानीलकण्ठ नगरपालिका वडा नं १० को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । सप्तदेवका पुरुषोत्तम नेपाल र शान्ता ढकाल पुडासैनी बूढानिलकण्ठ नगरपालिका वडा नं १२ को वडा सदस्य पदमा निर्वाचित हुनुभएको हो । सो सहकारीका चारैजना सदस्य एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । सप्तदेव साकोसका अध्यक्ष मञ्जु कुइँकेलले आफ्ना सदस्यले स्थानीय तहमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

सुभावना सहकारीका तीनजना निर्वाचित

सुभावना बचत तथा ऋण सहकारी सस्थाबाट तीन जना स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको छ । संस्थाका उपाध्यक्ष मोहनबहादुर बिष्ट एमालेको तर्फवाट काठमाडौं महानगरपालिका वडा ४ को वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी संस्थाकै शिक्षा उपसमिति सदस्य कृष्ण चालिसे काठमाडौं वडा नम्बर ३ को सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै संस्थाका सेयर सदस्य सावित्री ढकाल भट्टराई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा निर्वाचित हुनुभएको छ ।

एउटै सहकारीका २८ जना उम्मेदवार

झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ।
संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा (एमाले)का तर्फबाट दमक नगरपालिकाको प्रमुखमा संस्थाका अध्यक्ष रोमनाथ ओली उम्मेदवार बन्नुभएको छ भने सोही संस्थाकै सञ्चालक सदस्य गीता अधिकारी पनि एमालबाटै नगर उपप्रमुखको उम्मेदवार बनाइनु भएको छ ।
त्यस्तै, ६ जना सदस्य विभिन्न पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् । राजनीतिक दलमध्ये एमालेबाट १६, नेपाली काँग्रेसबाट आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन, माओवादी केन्द्रबाट एकजना उम्मेदवार बन्नुभएको सो सहकारीका व्यवस्थापक बगाले बताउनुहुन्छ ।
संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मी दाहाल दमक–६ को वडा सदस्य र धितो मूल्याङ्कन उपसमितिका संयोजक टेकबहादुर थापा र दमक–६ को वडाध्यक्षका उम्मेदवार बन्नुभएको छ भने सञ्चालक समितिसँगै उपससमितिमा रहेका धेरैले वडा तहमा विभिन्न दलका तर्फबाट उम्मेदवारी दिएको उहाँले बताउनुभयो । विसं. २०५४मा स्थापित उक्त सहकारीमा दुई हजार ७६८ सदस्य आबद्ध छन् ।

एउटै सहकारीका ८० जना स्थानीय तह प्रतिनिधि
सुर्खेतमा एउटै सहकारीका ८० जना सहकारीकर्मी स्थानीय तहमा निर्वाचित भएको छन् । पहिलो चरणको निर्वाचनअन्तर्गत सुर्खेतको वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरू विभिन्न पदमा निर्वाचित हुनुभएको छ । संस्थाका कार्यवाहक अध्यक्ष देवकुमार सुवेदी वीरेन्द्र नगर नगरपालिकामा नगर प्रमुखमा निर्वाचित हुनु भएको छ । त्यसैगरी संस्थाका सञ्चालक समिति सदस्य खेमराज ओली गुराँस गाउँपालिका दैलेखको अध्यक्ष निर्वाचित हुनु भएको छ । यही सहकारीका सेयर सदस्यहरू विभिन्न नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यमा निर्वाचित हुनु भएको छ । मेयर उपमेयर बाहेक गाउपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा त सयौं उम्मेदवारले विजय हासिल गरिसकेका छन् । टिकट पाएर उम्मेदवार बनेका अधिकांश सहकारीकर्मी स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन् । सहकारीकर्मीहरुले वडा सदस्य देखि प्रमुखदेखि सम्म हात पार्न सफल भएका छन् ।
पहिलो चरणमै दर्जनौं उम्मेदवारले सफलता हाता पारिसकेका सहकारीकर्मीहरु दोस्रोमा पनि सफलता हाता पार्ने दाउमा छन् । दोस्रो चरणको निर्वाचनमा समेत ठूलो संख्यामा सहकारीकर्मीहरु निर्वाचनमा होमिएका छन् । स्थानीयस्तर र समूदायमा सहकारीकर्मीहरुको कार्यक्षेत्र भएकाले पनि जित हासिल गर्न सहकारीकर्मीहरुलाई सजिलो भइरहेको अगुवा सहकारीकर्मी गोविन्द शर्मा पौडेलको ठम्याई छ । निर्वाचित सबैले सहकारीकारी मार्फत स्थानीयस्तरको आर्थिक समृद्धिमा जोड दिनुपर्नेमा शर्माको जोड छ ।

मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा जित्ने यी सहकारीकर्मी प्रतिनिधि पात्र मात्र हुन् । अन्य दर्जनौं सहकारीकर्मी देशभरबाट जनप्रतिनिधि बनेका छन् ।

नाम                                                पद                                                   प्रतिनिधित्व गरेको स्थानीय निकाय
कृष्णहरी थापा (एमालेबाट)                मेयर                                                     कागेश्वरी मनोहरा नगरपालिका
देबकुमार सुवेदी (काँग्रेसबाट)            मेयर                                                     विरेन्द्रनगर नगरपालिका
रामेश्वर बोहरा (एमालेबाट)                 मेयर                                                     तारकेश्वर नगरपालिका
मोहनबहादुर बस्नेत (काँग्रेसबाट)        मेयर                                                     नार्गाजुन नगरपालिका
घनश्याम गिरी (काँग्रेसबाट)                मेयर                                                    चन्द्रागिरी नगरपालिका
रमेश महर्जन (एमालेबाट)                  मेयर                                                     किर्तिपुर नगरपालिका
भूपराज अधिकारी (एमालेबाट)          मेयर                                                      गल्याङ नगरपालिका
भीमकुमारी राउत (एमालेबाट)          उपमेयर                                                 कटारी नगरपालिका
कमला भट्टराई (एमालेबाट)              उपमेयर                                                 कालिका नगरपालिका
जूना बस्नेत (एमालेबाट)                    उपमेयर                                                 सूर्यविनायक नगरपालिका
मुना अधिकारी (काँग्रेसबाट)             उपमेयर                                                 गोदावरी नगरपालिका
ताराबहादुर काफ्ले                            प्रमुख                                                    कानेपोखरी गाउँपालिका
रामचन्द्र दाहाल                                प्रमुख                                                     महांकाल गाउँपालिका
खेमराज ओली                                  प्रमुख                                                     गुराँस गाउँपालिका
रणबहादुर तामाङ (काँग्रेसबाट)        प्रमुख                                                    खनियावास गाउँपालिका
शोभा सापकोटा (एमालेबाट)            अध्यक्ष                                                   कामनपा वडा नं १४
एकराज उप्रेती (एमालेबाट)              प्रमुख                                                     मनहरी गाउँपालिका
सन्तोष गुरुङ (काँग्रेसबाट)               प्रमुख                                                     धार्चे गाउँपालिका
सीता ढुंगाना (एमालेबाट)                  उपप्रमुख                                               गजुरी गाउँपालिका
पार्वती राणा (एमालेबाट)                   उपप्रमुख                                               भीमफेदि गाउँपालिका
राजेन्द्रमणी काफ्ले (एमालेबाट)         अध्यक्ष                                                   भरतपुर मनपा वडा नं. ७
केशब श्रेष्ठ (एमालेबाट)                     अध्यक्ष                                                   शारादा नपा वडा नं. २
रविन्द्र विक्रम हमाल                          अध्यक्ष                                                   बर्दघाट नपा वडा नं. ४
रत्नबहादुर पौडेल                              अध्यक्ष                                                   सैनामैना नपा वडा नं. ३
ध्रब घिमिरे (माओवादी केन्द्र)            अध्यक्ष                                                    कोन्ज्योसोम गापा वडा नं. २ (शंखु)
मनोज घिमिरे (एमालेबाट)                अध्यक्ष                                                     तारकेश्वर नपा वडा नं. ८
मनोज ढुंगना (काँग्रेसबाट)                अध्यक्ष                                                     गोकर्णेश्वर नपा वडा नं. ८
मोहनबहादुर बिष्ट (एमाले)                अध्यक्ष                                                     कामनपा वडा नं. ४
मनोज भण्डारी (काँग्रेसबाट)              सदस्य                                                     टोखा नपा वडा नं. ११
सोम मिश्र                                           सदस्य                                                    चाँगुनारायण नगरपालिका
पुरुषोत्तम नेपाल (एमाले)                   सदस्य                                                     बूढानीलकण्ठ नपा वडा नं. १२
हरिरत्न गोर्खाली (नेमकिपा)                सदस्य                                                     भक्तपुर नगरपालिका
कृष्ण चालिसे                                      सदस्य                                                     कामनपा वडा नं. ३
सावित्री ढकाल भट्टराई                       सदस्य                                                     बूढानीलकण्ठ नपा वडा नं. ७

व्यवसायीकाे पनि राम्रै उपस्थीती 

दिलिप अग्रवाल वगडिया र दिपकबाबु कडेल मेयर बने भने प्रमोद श्रेष्ठ झिनो मतले पराजित भए । त्यसैगरी रमेश महर्जन र गोपाल हमालले राम्रो मत बटुलेका थिए ।

पहिलो र दोस्रो चरणमा सम्पन्न यो निर्वाचनमा व्यापारी व्यवसायीको उल्लेख्य उपस्थिति रह्यो । यो निर्वाचनमा व्यवसायीहरुले आशतित रुपमा सफलता हाता पार्न नसके पनि स्वतन्त्रबाटै उठेर भएपनि ठूला राजनीतिक दललाई समेत ‘आछुआछु’ बनाए । ठूला राजनीतिक दलमा लागेर उठेका व्यवसायीले जित हात पार्न सफल पनि भए भने कोही नयाँ दलहरुमा लागेर पनि राम्रो जनमत बटुल्न सफल भएका छन् ।

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा उद्योगी दिलीप अग्रवाल बगडिया निर्वाचित हुनु भएको छ । उहाँ माओवादी केन्द्रका तर्फबाट उमेद्ववार बन्नु भएको थियो । उद्योगी पृष्ठभूमिका बगडिया नेपालकै सबैभन्दा ठूला इँटा उद्योगी मानिनु हुन्छ । उहाँको सञ्चालनमा मोरङ र सुनसरीमा गरी ‘आनन्द’ ब्रान्डका ११ वटा इँटा उद्योग छन् । उनी चर्चित ‘म्याजिक’ छाप जुत्ताचप्पल उद्योग र आनन्द कत्था इन्डस्ट्रिज खयर उद्योगका सञ्चालक समेत हुनुहुन्छ । उहाँको यसबाहेक आनन्द स्न्याक्स एन्ड स्पाइसेज नामको फास्टफूड र मसला उद्योग पनि सञ्चालन गरिरहनु भएको छ ।

बगडियाले ८ हजार ८२ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार २ सय ५० मत हासिल गर्नुभयो । उहाँले रंगेली मोरङको पुरानो सदरमुकाम भए पनि विकासनिर्माणमा पछि परेको उल्लेख गर्दै आगामी ५ वर्षमा यसको कायापलट गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । रंगेलीमा धेरै नेता आए र चुनाव लडेर गए तर कसैले रंगेलीको रंग फेर्न नसकेको उहाँले वताउनुभयो । अरुले रङ्गेलीको शोषणमात्र गरेको आरोप लगाउँदै उहाँले रङ्गेलीको पुनर्निर्माण गर्ने सोचले उम्मेद्ववार भएको बताउनु भयो ।
त्यस्तै व्यवसायी ई. दिपकबाबु कँडेलले गोर्खा जिल्लाको गोर्खा पालुङटार नगरपालिकाको मेयर पदमा निर्वाचित हुनु भएको छ । बास्तुमण्डप कन्सल्टेन्सीका सञ्चालक कँडेल नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै मेयरमा निर्वाचित हुनु भएको हो ।

त्यसैगरी ललितपुर महानगरपालिकाको मेयरका उम्मेद्वार रमेश महर्जनले चमत्कारिक मत ल्याएर चर्चाको पात्र बन्नुभयो । भर्खरै मात्र स्थापना भएको साझा पार्टी नेपालको तर्फबाट उम्मेदवार बन्नुभएका महर्जनले १३ हजार ४५८ मत प्राप्त गर्नुभएको थियो । महर्जनले प्राप्त गरेको यो मतलाई उत्कृष्ट मत मानिएको छ । सुनचाँदी व्यवसायी महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष पनि हुनुहुन्छ ।
अर्का चर्चित व्यवसायी पवित्र बज्राचार्य पनि काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुभयो । खुद्रा व्यापार संघका अध्यक्ष समेत रहेका बज्राचार्यले संघिय समाजवादी–नयाँ शक्ति नेपाल गठबन्धनबाठ उम्मेदवार दिनुभएको थियो । व्यवसायी ओम उप्रेती काठमाडौंको २९ नं. वडा अध्यक्षमा पराजित हुनुभयो । एमालेका तर्फवाट उम्मेदवारी दिनुभएका उप्रेती नेपाल हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष पनि हुनुहुन्छ ।

निर्वाचनमा जितेका, पराजित भएका र ठूलो संख्यामा मत प्राप्त गरेका केही यी व्यवसायी प्रतिधिनि पात्र मात्रै हुन । उपमेयर, गाउँपालिका प्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा जित्ने र प्रतिस्पर्धा गर्ने व्यवसायीहरु धेरै रहेका छन ।
नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला–नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय निकायको उम्मेदवारी दिएकै कारण पदमुक्त हुनु भएको छ । म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएपछि उहाँलाई महासंघको विधानअनुसार उपाध्यक्षबाट पदमुक्त गरेको हो । उक्त पदमा महासंघले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ ।

श्रेष्ठले एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएकाले उक्त दफा प्रयोग गरी उहाँलाई पदमुक्त गरिएको महासंघले जानकारी दिएको छ । श्रेष्ठ नेपाली कांग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठसंग झिनो (४४ मत) मत अन्तरले बेनी पराजित हुनु भएको थियो । मेयरमा निर्वाचित भए महासंघ उपाध्यक्ष पद छाड्ने सोच बनाएर स्थानीय तहको निर्वाचनमा होमिएका उहाँले दुवैतिरको पद गुमाउनुपरेको छ । निर्वाचनमा पराजित भए पनि राजनीतिक रूपमा उम्मेदवारी दिएकाले ‘सक्रिय राजनीतिमा लागेको’ भन्दै उनलाई महासंघको विधानअनुसार उपाध्यक्ष पदबाट हटाइएको हो । उक्त पदमा अब बढीमा अढाई महिनाभित्र उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । महासंघमा त्यसका लागि आन्तरिक गृहकार्य समेत सुरु भइसकेको छ । निर्वाचन गर्ने निर्णयसँगै यतिवेला निजी क्षेत्रका समूह समूहबीच उक्त पदमा कसले उम्मेदवारी दिने भन्नेबारे चर्चासमेत सुरु हुन थालिसकेको छ ।

पदमुक्तको निर्णय गरिएको बारे श्रेष्ठले मिडियामार्फत जानकारी प्राप्त भएको बताउँदै अब कानुनी उपचार खोजिने प्रतिक्रिया दिनुभएको थियो । उहाँका अनुसार सक्रिय राजनीतिबारे विधानमा स्पष्ट व्यवस्था छैन । एउटा बुँदामा एक कुरा छ अर्को बुँदामा अर्कै रहेको उहाँले जिकिर गर्नुभयो । यसको दुई अर्थ लाग्ने छ । २०६० देखि महासंघमा लगातार सक्रिय भएको भन्दै उहाँले पदमुक्तको निर्णय अन्यायपूर्ण रहेको वताउनुभयो । स्वच्छ व्यवसायलाई पाखा लगाउने कालो व्यवसायलाई प्रवद्र्धन गर्ने गरी उक्त निर्णय भएको उहाँको आरोप छ ।

धनगढी उपमहानगरपालिकामा मेयरका लागि उम्मेद्वारी दिनुभएका उद्योगी गोपाल हमालले यो निर्वाचनमा सबैभन्दा बढी चर्चा बटुल्न सफल हुनुभयो । स्वतन्त्रबाट उम्मेदवार बन्नु भएका हमाल ठूला दलका उम्मेद्वारहरुको लागि समेत चुनौति बन्नुभयो । उहाँले परिणाम आफ्नो पक्षमा नल्याए पनि ठूला दलहरुका लागि चुनौति नै बन्नुभयो । उहाँले ११ हजार ५ सय २७ मत ल्याएर मेयरमा निर्वाचित काँग्रेसका नृप वडको निकटतम् प्रतिद्वन्द्वी बन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij