२९ असार, काठमाडौं । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । क्षेत्री उपराष्ट्रपति कार्यालय र उर्जा मन्त्रालयमा सचिव भइसकेका छन् । आउँदो सोमबार निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो । मुख्य सचिवको प्रतिस्पर्धामा क्षेत्रीसँगै राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, अर्थसचिव शान्तराज सुवेदी, शिक्षासचिव शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटनसचिव शंकर अधिकारी थिए।