२९ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आज (बिहीबार) देखि सुरु भएको छ ।
दुबै बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएपछि आजबाट नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा औपचारिक रुपमा एकीकृत कारोवार सुरु भएको हो ।
एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबिएलको चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनआईबिएल एस थपिएपछि निजि क्षेत्रको सबैभन्दा बढी चुक्ता पूँजी बनाउने बैंकको पंक्तिलाई थप मजबुत बनाएको छ ।
एसको प्राप्तिपछि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छ भने केन्द्रिय कार्यालय पनि एनआईबिएलको दरबारमार्गस्थित कार्यालयलाई नै यथावत राखिएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ ।
एसको प्राप्तिपछि एनआईबिएलको कुल निक्षेप १ सय २४ अर्ब रुपैयाँ पुगेको छ भने कूल कर्जा १ सय सात अर्ब पुगेको छ । त्यस्तै पूजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पुगेको छ ।
एसको १२ वटा शाखा तथा एउटा एक्स्टेन्सन काउन्टर थपिएसंगै एनआईबिएलको ६१ वटा शाखा पुगेको छ भने चार वटा एक्स्टेन्सन काउन्टर भएका छन् । एसको १२ वटा एटिएम थपिएपछि एनआईबिएलको ए.टि.एम. संख्या ९८ वटा पुगेको छ । दुबै बैंकका शाखा तथा एटिएम अहिलेलाई जहाँको त्यही यथावत राखिएको छ ।
तीन दशकको सेवा अवधिमा पाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरेको एनआईबिएलले एसको प्राप्तिपछि अझ बृहत्तर रुपमा आफ्ना ग्राहक सेवालाई फैलाउदै लैजाने बैंकले जनाएको छ ।