२१ असार, काठमाडौं । तीनओटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका लागि दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३ सय ७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार प्रदेश नम्बर १ का १ सय १९, प्रदेश नम्बर ५ का १ सय ४ र प्रदेश नम्बर ७ का ८४ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।
योसँगै २७ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ भने २७ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । बुधवार दिउँसो ३ः३० बजेसम्मको मतगणनाअनुसार, नेकपा (एमाले) १ सय ३५, नेपाली काङ्ग्रेस १ सय १६, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम छ, लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानको स्थानीय तहमा प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले बताएको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १ सय ५७, काङ्ग्रेस ९९, माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, लोकतान्त्रिक फोरम नेपाल पाँच, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुई स्थानमा विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
हाल आठ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन स्थानीय तहमा मतगणना स्थगित भएको छ । मतगणना स्थगित भएका स्थानीय तहमा सुनसरीको धरान, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका हुन् । दोस्रो चरणको स्थानीय तहको ३ सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५ सय २२ मत खसेको थियो । रासस