२० असार, काठमाडौं । सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । जसकालागी बैंकले असार २७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र सेन्चुरीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
बैंकले १०:४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।बैंकको हकप्रदकालागी बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो ।
भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिइसकेको छ ।
चालु आर्थिक तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ । दुई बैंकलाई एक्वायर गरेपछि यो चुक्ता पुँजी थप वृद्धि भने भइसकेको छ ।