पोखरा–१७ छोरेपाटनमा ठूलो वर्षापछि पानी जमेर परेको भ्वाङ ।
२ को ज्यान गयो, १ बेपत्ता, ठाउँठाउँमा जमिन भासियो
पोखरा : वर्षभरिकै सबैभन्दा धेरै शनिबार परेको पानीले पोखरामा धनजनको क्षति गरेको छ । दुई जनाले ज्यान गुमाएका छन् भने दर्जनौंको घर, बारी, खेतलगायत सम्पत्तिमा क्षति पुगेको छ । पोखराको ठाउँठाउँको जमिन भासिएर भ्वाङ परेको छ ।
पोखरा लेखनाथ महानगरपालिका १८ पस्र्याङपाखामा राति १२ बजे घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिँदा गुल्मी घर भई ठूलीआमाको घरमा बस्दै आउनुभएका १४ वर्षीय टंक क्षत्रीको ज्यान गएको छ । पहिरोले पुरिनुभएका क्षत्रीको उद्धार गरी अस्पताल लैजाँदै गर्दा ज्यान गएको स्थानीय केशवराज न्यौपानेले बताउनुभयो ।
ढिस्को खसेर आधा शरीर पुरिएकी धनमाया अधिकारी भने बाँच्न सफल हुनुभएको छ । परिवारका एक मात्र छोरा टंक ठूलीआमाको घरमा बसेर स्थानीय धर्मस्थली निमावि कक्षा ८ मा पढ्नुहुन्थ्यो । घरका अरू सदस्य भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
पोखरा १९ अकलादेवी मन्दिरनजिकै पहिरोले पुरिँदा ४० वर्षीय शोभा पौडेलको ज्यान गएको छ । ब्लकले बनेको भान्छा कोठामा काम गर्दै गर्दा पहिरोले बगाएको पौडेलको शव आइतबार बिहान घरभन्दा १ सय मिटर तल भेटिएको थियो । पक्की घरमा भने पहिरोले कुनै असर गरेको छैन । भान्छा कोठा नजिकैको पक्की घरमा सुतेका उहाँका छोरा भने सकुशल हुनुहुन्छ ।
वर्षाले पोखराका विभिन्न ठाउँमा भूक्षय भएको छ । ठाउँठाउँमा भ्वाङ परेको छ । पोखरा—१७ छोरेपाटनका होमनाथ चापागाईंको घर छेउवैमा भ्वाङ परेको छ । बाटुलेचौर र विन्ध्यवासिनी क्षेत्रमा पनि जमिन भासिएको छ । छोरेपाटनमा पानीको निकास थुनेर गरिएको प्लटिङमा बनेका घर डुबानमा परेका छन् । पोखरा–५ ठूलीपोखरी आसपास क्षेत्रमा पनि पानीको निकास नहुँदा बस्ती डुबानमा परेको छ । लेकसाइडको खहरेमा सडक पूरै हिलाम्य छ ।
सराङकोटको मेथलाङमा पहिरोले १० भन्दा घर जोखिममा परेका छन् । लामागाउँमा २ घर खतरामा छन् । घारीपाटन रातोपैह्रा नजिक सेती किनारको जमिन भासिएको छ । सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिँदा ठूलो ताल बनेपछि ५० घर जोखिममा परेका छन् । वर्षापछि बढेको फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीलाकुमारी लामिछाने बेपत्ता भएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो । रोपाइँ गरी छोरीको घर फर्कने क्रममा खोला तर्दा लामिछानेलाई खोलाले बगाएको हो । हराएकी लामिछानेको खोजी भइरहेको प्रहरीले बताएको छ ।
पोखरामा वर्षकै बढी वर्षा
मुलुककै सर्वाधिक धेरै झरी पर्ने सहर पोखरामा यस वर्षकै धेरै वर्षा भएको छ । पछिल्लो २४ घन्टाको मापनअनुसार पोखरामा मुलुकमै सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान ९ बजेसम्मको मापनअनुसार यहाँ वर्षकै सबैभन्दा बढी १ सय ९१ मिलिमिटर वर्षा भएको हो । पोखरापछि दाङमा ८०, धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ । पोखरामा यसअघि सन् २००१ अगस्ट १८ मा हालसम्मकै सर्वाधिक ३ सय ५७ मिलिमिटर वर्षा भएको हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिनुभयो ।
पोखरा लेखनाथ महानगरपालिका–१८ पस्याङ पाखामा गएराति १२ बजे वर्षासँगै घर पछाडिबाट ढिस्को खसेर पुरिएको तारापति अधिकारीको घरको कोठा । कोठा पुरिँदा गुल्मी घर भई ठूलीआमाको घरमा बस्दै आएका १४ वर्षीय टंक क्षत्रीको ज्यान गएको छ ।
मुग्लिन-नारायणगढ सडकको बिजोग : छिनछिनमै खस्छ पहिरो
पहिरोले पुरिएर एकको मृत्यु, दिनभर बाटो अवरुद्ध
भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् ।

पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो ।
निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो ।
पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले भौगोलिक अध्ययनसमेत गरेको थियो । त्यसक्रममा २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको थियो । आयोजनका इन्जिनियर शिव खनालले भूकम्प र सडक निर्माण क्रममा चट्टान कटान गर्दा पहिरोको जोखिम बढेको बताउनुभयो ।
वर्षासँगै पहिरो जाने क्रम बढेको छ । पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण रहेको छ । मुग्लिन प्रहरीको टोली पहिरो हटाउनेमा केन्द्रित हुने गरेको छ । असार १२ गते कालिखोला यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको थियो । चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो । अन्नपूर्ण पाेष्टबाट