११ असार, काठमाडौं । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि चुनावी प्रचार प्रसार नगर्न सबैलाई निर्देशन दिएको छ ।
बुधबार हुने चुनावको लागि राति १२ बजेपछि मौन अवधी सुरु हुने भन्दै आयोगले आफ्ना वेब साइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत प्रचार–प्रसार नगर्न निर्देशन दिएको हो । मौन अवधीमा प्रचार प्रसार गरेको भेटिए निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
चुनावका लागि प्रचार गर्ने आइतबार अन्तिम दिन भएकाले उम्मेदवार तथा समर्थक अन्तिम प्रचारमा बिहानैदेखि व्यस्त भएका छन् । निर्वाचन आयोगले आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा समर्थकका साथै सञ्चारमाध्यममले पनि पालना गर्नुपर्ने निर्वाचन आचार संहितामा उल्लेख छ ।
मौन अवधि पूरा भएपछि कुनैपनि उम्मेद्वारको पक्षमा मत माग्ने वा चुनावालई प्रभावित गर्ने खालकासन्देश विज्ञापन वा अन्य सामग्रीको प्रचारप्रसार गर्न नपाइने तथा एसएमएस फेसबुक ट्वीटर लगायत सामाजिक सञ्जालमा पनि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ । यसैबिच चुनावका लागि मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।
आउँदो बुधबार हुने चुनावका लागि सम्बन्धित मतदान केन्द्रबाट बिहान साढे ७ बजेदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने सरकारी कागजात लिएर परिचयपत्र लिन सकिने आयोगले जनाएको छ । परिचयपत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिंडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी अपांगता भएका व्यक्ति लगायतको परिचय पत्र भने एकै घरका व्यक्तिले लिन सक्नेछन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार परिचय वितरणसंगै केन्द्रमा मतदातालाई मतदान गर्ने सहि तरिका पनि सिकाइनेछ ।
३५ जिल्लामा आजदेखि चार दिन विद्यालय बन्द
दोस्रो चरणको स्थानीय चुनावको लागि ३५ जिल्लाका शिक्षण संस्था आइतबारदेखि ४ दिनका लागि बन्द भएका छन् । सरकारको निर्णय अनुसार चुनावका लागि आइतबारदेखि बुधबारसम्म शिक्षण संस्थालाई सार्वजनिक बिदा दिइएको हो ।
मतदानको दिन प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत पर्ने ३५ जिल्लाका सबै सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।