१० असार, काठमाडौं । यातायात व्यवस्था विभागले भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई गोलाप्रथाबाट एक हजार ५ सय ट्याक्सी वितरण गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार भूकम्प प्रभावित १४ जिल्लाका बासिन्दालाई गोलाप्रथाबाट एकहजार ५ सय थान ट्याक्सी वितरण गरेको हो ।
वितरण गरिएका ट्याक्सीहरूमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकलाई २ सय ५३ ओटा र सबैभन्दा थोरै ओखलढुङ्गा र रसुवालाई ३०/३० ओटा ट्याक्सी वितरण गरेको हो ।
बुधवार काभ्रेपलाञ्चोकलाई २ सय १, नुवाकोटलाई १ सय २५ र रामेछाप १६५ गरी ४ सय ९१, बिहीवार दोलखा २ सय १४, सिन्धुली ४६ र सिन्धुपाल्चोक २ सय ५३ गरी ५१३ ट्याक्सी वितरण गरेको विभागले बताएकोे छ । यस्तै, विभागले शुक्रवार काठमाडौंलाई ९५, ललितपुर ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ १ सय १७, ओखलढुङ्गा ३०, गोरखा ७८ र रसुवा ३० गरी ४ सय ९६ ट्याक्सी वितरण गरेको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले एकलाख ४९ हजार ५ सय आवेदन परेकामध्ये एक हजार ५ सय ट्याक्सी वितरण गरिएको जानकारी दिए । विभागले ललितपुरको च्यासल फुटबल मैदानबाट गोलाप्रथामार्फत ट्याक्सी वितरण गरेको हो । रासस