८ असार, काठमाडौं । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ बराबर १ (२ : १) अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । संस्थाले शेयरधनीका लागि असार २५ गतेदेखि साउन २९ गतेसम्म प्रति शेयर एक सय अङ्कित दरको २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
संस्थाले हकप्रद निष्कासन प्रयोजनकालागि असार १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। संस्थाको हकप्रद असार १५ गतेसम्म कायम भएका शेयरधनीलेमात्र आवेदन दिन पाउने छन्।
शेयर खरीदका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका सम्पूर्ण शाखाहरुबाट दरखास्त फारम उपलब्ध हुने जनाइएको छ ।
हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू.८ करोड ४७ लाख ५० हजार पुग्नेछ । चालू आवमा कम्पनीको चुक्ता पूँजी रू. १० करोड पुग्ने प्रक्षेपण गरिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा रू.१ करोड १ लाख ७७ हजार रहेको छ ।