जेष्ठ २६, काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप ६ दिन थुनामा रहने भएका छन् । शर्मालार्इ विशेष अदालतले थप ६ दिन हिरासतमै राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको हाे ।
कर फछ्र्यौटका क्रममा गैरकानुनी रुपमा ब्यवसायीलाई उन्मुक्ति दिएको आरोप लगाउदै अख्तियार अनुसन्धान आयोगको टोलीले गत जेठ १९ गते शर्मालाई उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । शर्मामाथिको आरोपबारे अनुसन्धानका लागि भन्दै अदालतले यसअघि शर्मा पक्राउ परेकै दिनबाट लागु हुने गरी ७ दिनको समय दिएको थियो । अनुसन्धानका क्रममा शर्माले प्रमाणहरु नष्ट गर्न सक्ने भन्दै हिरासतमा लिनु परेको अख्तियारले बताउदै आएको छ ।
अख्तियार टोलीले अनुसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै ३० दिनको समय माग गरेपनि न्यायाधिश भुपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार सिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले आज ६ दिन मात्र उपलब्ध गराएको हाे ।