१८ जेठ, काठमाडौं । पूर्वराजा दिपेन्द्र वीरविक्रम शाहको प्रेमकथामा आधारित चलचित्र ‘दीपेन्द्र सरकार’ बन्ने भएको छ । आशुसेन प्रोडक्सनले उक्त चलचित्र बनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
दरबार हत्याकाण्ड भएको १६ वर्ष पुग्न दुई दिन बाँकी रहँदा चलचित्र ‘दीपेन्द्र सरकार’को निर्माण घोषणा गरिएको हो । दीपेन्द्रको प्रेम जीवनलाई चलचित्रमा समावेश गरिने निर्माता सन्तोष सेनले बताएका छन् । विवेक कुमार शाहद्धारा लिखित पुस्तक मैले देखेको दरबारमा आधारित रहेर चलचित्र दीपेन्द्र सरकार निर्माण हुनेछ ।
पूर्वराजा दिपेन्द्र वीरविक्रम शाहको प्रेमकथा आज पनि नेपालीहरुका निम्ति ठूलो कौतुहलको विषयका रुपमा रहेको छ । देवयानी राणासँगको प्रेमसम्वन्धलाई विवाहमा परिणत गर्न नसकेकै कारण दिपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको दरबार निकट सूत्रहरुले दाबी गर्ने गरेका छन् ।
दरबार हत्याकाण्डपछि अर्द्धमृत अवस्थामै दिपेन्द्र नेपालको १३ औं राजा बनाइएका थिए । उनको २१ जेठ, २०५८ सालमा २९ वर्षको उमेरमा मृत्यु भएको थियो ।
राप्रपाका नेता पशुपति शम्शेर राणाकी छोरी देवयानीसँग दिपेन्द्रको लामो प्रेमसम्बन्ध रहेको थियो । तर, उनकी आमा पूर्वरानी ऐश्वर्या राज्यलक्ष्मी शाह यो प्रेमविरुद्ध थिइन् । यही विषयमा आमासँग भएको मनमुटावले ठूलो रुप लिँदा दिपेन्द्रले आफ्नो वंश नाश गर्न पुगेको बताइन्छ ।
आगामी २०७५ जेठ १९ गते रिलिज हुने गरी बनाइने उक्त चलचित्रमा नेपाली ईतिहासको ऐतिहासिक घटना र पात्रमाथि केन्द्रीत रहेर सिनेमा बनाउन लागेको निर्माण पक्षले जनाएको छ ।
करिव ५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको जनाइएको छ । नेपाल बेलायत र अमेरिकामा छायांकन गरिने सिनेमाको छायांकन भव्य सेट निर्माण गरेर गरिने निर्माता सनतोष सेनले बताए ।
चलचित्र ‘प्रेमगीत’बाट चर्चा र लोकप्रियता कमाएका नायक प्रदीप खड्का दीपेन्द्र सरकार बन्ने भएका छन् । जसिका लागि नायक खड्काले अहिलेबाटै आफुलाई दीपेन्द्रको स्वरुपमा बदल्न तौल बढाउनेदेखि अनुसन्धानमा क्रियाशील बनेका छन् ।