काठमाडौं । बलिउडका चर्चित गायक अरिजित सिंहले पार्श्वगायन (प्लेब्याक सिङ्गिङ)बाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका हुन्।
इन्स्टाग्राम पोस्टमा नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, “वर्षौँदेखि पाएको तपाईंहरूको माया र समर्थनका लागि धन्यवाद। म अब पार्श्व गायकको रूपमा कुनै नयाँ काम स्वीकार गर्ने छैन। यो यात्रालाई यहीँ समाप्त गर्दैछु। यो एक अद्भुत अनुभव रह्यो। भगवान धेरै दयालु हुनुहुन्छ।”
तर, उनले संगीत क्षेत्र नै छोड्ने भने होइनन्। अरिजितले स्पष्ट पारेका छन् कि उनी संगीत सिर्जना गर्दै रहनेछन् र एक युवा कलाकारको रूपमा सिक्ने क्रम जारी रहनेछ। साथै, पहिलेका केही प्रतिबद्धताहरू पूरा गर्ने र सन् २०२६ मा केही गीतहरू रिलिज हुन सक्ने सम्भावना पनि उनले बताएका छन्। “म राम्रो संगीतको प्रशंसक हुँ र मेरो काम जारी राख्नेछु,” उनले उल्लेख गरेका छन्।
संघर्षदेखि सुपरस्टारसम्मको यात्रा
अरिजित सिंहको जन्म सन् १९८७ अप्रिल २५ मा पश्चिम बंगालको जियागंजमा भएको हो। उनले सन् २००५ मा रियालिटी शो ‘फेम गुरुकुल’ मा सहभागिता जनाएका थिए। शो नजिते पनि यसले उनलाई संगीत उद्योग बुझ्ने र आफ्नो सीप निखार्ने महत्वपूर्ण अवसर प्रदान गर्यो।
त्यसपछि उनले संगीत प्रोग्रामर र पृष्ठभूमि गायकका रूपमा काम गरे, जुन उनको करियरको कम चिनिएको तर महत्वपूर्ण चरण थियो।
‘तुम ही हो’ ले बदलेको करियर
सन् २०१३ मा फिल्म ‘आशिकी २’ को गीत ‘तुम ही हो’ अरिजित सिंहको करियरको निर्णायक मोड बन्यो। यस गीतले उनलाई रातारात सुपरस्टार बनायो। त्यसपछि ‘चाहुँ मै या ना’, ‘राब्ता’, ‘अगर तुम साथ हो’, ‘गेरुवा’ र ‘ए दिल है मुश्किल’ जस्ता हिट गीतहरूबाट उनी संगीत निर्देशकहरूको पहिलो रोजाइ बने।
२०१४ देखि २०१९ सम्मको समयलाई अरिजितको करियरको स्वर्णिम काल मानिन्छ। यस अवधिमा उनले हिन्दी मात्र होइन, बंगाली, तमिल, तेलुगु, मराठी र कन्नड भाषामा पनि थुप्रै लोकप्रिय गीतहरू गाएका छन्।
व्यक्तिगत जीवन
अरिजित सिंहको पहिलो विवाह रियालिटी शो ‘फेम गुरुकुल’ की प्रतियोगी रूपरेखा बनर्जीसँग भएको थियो। सोही शोका क्रममा उनीहरूबीच चिनजान भएको थियो। तर विवाह भएको एक वर्षभित्रै आर्थिक समस्यालगायत कारणले उनीहरूको सम्बन्ध विच्छेद भयो।
त्यसपछि अरिजितले आफ्नो बाल्यकालकी साथी कोयल रोयसँग सम्बन्ध गाँसे। कोयलको पनि पहिले सम्बन्ध विच्छेद भइसकेको थियो र उनकी एक छोरी छिन्। दुबै एकअर्काको सहारामा जीवन अघि बढे।
जनवरी २०, २०१४ मा पश्चिम बंगालको तारापीठ मन्दिरमा परम्परागत बंगाली विधिअनुसार उनीहरूको विवाह भएको थियो, जुन अरिजितले लामो समयसम्म गोप्य राखेका थिए।