११ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई थप व्यवस्थित र सरल बनाउन नयाँ निर्देशन जारि गरेको छ । बोर्डले आगामी साउनदेखि आस्बा अनिवार्य गर्ने निर्णय गरिसकेको छ । गत माघदेखि लागू भएको आस्बा प्रणालीलाई साउनदेखि थप प्रभावकारी बनाउनको लागि बोर्डले आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई नौ बुँदे निर्देशन दिएको हो ।
आवेदककर्ताले आवेदन फाराममा अङ्ग्रजीमा हितग्राही खाता नं र अङ्ग्रेजी ठूलो अक्षरमा नाम थर लेख्नुपर्ने बोर्डले बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धि संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा त्यही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउनसमेत वोर्डले निर्देशन दिएको छ।
बोर्डले बैंक तथा वित्तीय संस्थाले साउन अगाडि कम्तीमा एक पटक र साउनपछि समय–समयमा आफ्ना कर्मचारीलाई आस्बासम्बन्धी तालीम दिनुपर्ने बताएको छ ।
सहभागी वैंक वा वित्तीय संस्था तथा शाखाहरुले प्रदान गरेको आस्वा सेवा सम्वन्धमा समय समयमा वोर्डवाट स्थलगत निरीक्षण हुन सक्ने र उक्त निरीक्षणका क्रममा कमी कमजोरी देखिएमा सम्वन्धित संस्था तथा शाखालाई सेवा प्रदान गर्न रोक लगाइने पनि बोर्डले स्पष्ट पारेको छ ।
साथै बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ तथा उर्पयुक्त व्यवस्थाहरु पालना नभएमा आस्बा सेवा सम्वन्धी अनुमति स्थगन, खारेजी लगायत धितोपत्र सम्वन्धी ऐन नियम वमोजिम कारवाही हुने जनाएको छ ।