११ जेठ, काठमाडौं । नेपाल सरकारले अहिले देशभर आधुनिक पेट्रोलपम्प निर्माणको अवधारण ल्याएको छ । सरकारको अवधारण अनुरुप आधुनिक सुविधा सम्पन्न पेट्रोलपम्प निर्माणका लागि उल्लेख्य सङ्ख्यामा आवेदन परेको छ । नेपाल आयल निगमले गत पुस १८ गते त्यस्तो प्रस्ताव आह्वान गरेको थियो ।
पेट्रोल पम्प निर्माणका लागि अहिलेसम्म ७३ वटा आवेदन दर्ता भएका छन् । जसमा दर्ता भएका आवेदनमध्ये सरकारी क्षेत्रबाट १७ वटा र बाँकी ५६ वटा निजीक्षेत्रका छन् । सरकारी क्षेत्रका आवेदनमध्ये नेशनल ट्रेडिङले ७, साल्ट ट्रेडिङ र साझा पेट्रोल सेवाले ४/४ र नेपाली सेनाले २ वटा पम्प सञ्चालनका लागि आवेदन दिएका हुन् । नेशनल ट्रेडिङकोे भने हालको प्रादेशिक संरचनाअनुसार सातओटै प्रदेशमा पम्प सञ्चालन गर्ने योजना रहेको छ ।
हालसम्ममा दर्ता भएका आवेदनमध्ये सातवटाले भने पम्प सञ्चालनका लागि स्वीकृति पाइसकेको निगमले जनाएको छ । स्वीकृति पाएकामा नेपाली सेनाका दुईवटा र बाँकी निजीक्षेत्रका हुन् । निजीक्षेत्रबाट स्वीकृति पाएका पेट्रोल पम्पहरूमा पोखराको विकास आयल, सिरहाको गणपति आयल, सप्तरीको ओमश्री, धनकुटाको महाबोधी पेट्रोलियम र रूपन्देहीको मसिना आयल रहेका छन् । आवेदन दर्ताका लागि अन्तिम म्याद असार मसान्तसम्म रहेकाले आवेदन दर्ताको सङ्ख्या निकै बढ्ने निगमले बताएको छ । निगमका अनुसार आवश्यक कागजात सबै मिलेको खण्डमा सबै आवेदनकर्तालाई पम्प सञ्चालनको स्वीकृति दिइनेछ । आवेदनसँगै ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
आधुनिक सुविधायुक्त पम्प सञ्चालनका लागि १० लाख रुपैयाँ धरौटीका रूपमा राख्नुपर्ने व्यवस्था छ । निगमका अनुसार स्वीकृति पाएका सबै पम्पले १ वर्षभित्र निर्माण कार्य अघि बढाउनुपर्ने प्रावधान छ । निगमले ठूला र आधुनिक सुविधा एवम् प्रविधियुक्त नमूना पम्प सञ्चालन गर्ने गरी विक्रेता नियमावलीमा संशोधन गरी नयाँ व्यवस्था गरेको हो । सार्वजनिक सडकदेखि पम्पसम्म पुग्ने बाटोका समेत निगमले मापदण्ड तोकेको छ ।
नेपालमा हाल २ हजार १ सय भन्दा बढी साधरण पेट्रोलपम्प रहेको र ति पम्पहरुको पूर्वाधार कमजोर र क्षमता बृद्धि गर्न नसकिने भएकाले सरकारले आधुनिक पेट्रोल पम्प निर्माणको अवधारणा ल्याएको हो । डिजेल र पेट्रोल लिन घण्टौँ लाइन बस्नु पर्ने बाध्यता भएकोले सर्वसाधरण जनताका हितका लागि उक्त अवधारणा ल्याएको निगमको भनाइ छ ।
पेट्रोलपम्प निर्माणका लागि तराईमा १ बिघा र पाहाडमा ५ रोपनी क्षेत्रफलको जग्गा आवश्यक पर्ने, एक पटकमा कम्तीमा पनि पेट्रोलका लागि ४ वटा र डिजेलका लागि ४ वटा नोजल सञ्चालन गर्न सकिने, २४ सै घण्टा पम्प सञ्चालन हुने तथा इलेक्ट्रिक कार्ड बाट पनि रकम भुक्तान गर्न मिल्ने लगायतका सुविधा हुने पनि निगमले जनाएको छ ।