२९ वैशाख, काठमाडौं । एनआईसी एसिया र बिओकेले आस्वा सेवा नि:शुल्क गरेका छन् । बैंकहरुले आफ्नो बचत अन्य बैंकमा नजाओस् भन्दै आकर्षक बचत ब्याज सहित आस्वा सेवा नि:शुल्क गरेको घोषणा गरेका हुन् ।
पछिल्लो समय देव विकास बैंकले १० रुपैयाँ र अधिकांशले २० देखि २५ रुपैयाँमा आस्वा शुल्क झारेका थिए।
पहिले प्रति आवेदन २५० रुपैयाँसम्म शुल्क लिएर पनि गुणस्तरीय सेवा दिन नचाहने वाणिज्य बैंकहरु अहिले तीब्र प्रतिस्पर्धाका कारण यो सेवा निशुल्क उपलब्ध गराउन तछाडमछाड गर्न थालेका छन ।
नेपाल धितोपत्र बोर्डले गत माघबाट आस्वा सेवा ऐच्चिक रुपमा लागू गर्दा २५० रुपैयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो । केही महिना अगाडि त्यसलाई झारेर एक सय रुपैयाँ भन्दा बढी लिन नपाउने व्यवस्था गरिएको थियो ।
शुरुवातमा सजिलो माध्यम भएर पनि आस्वामा लगानीकर्ताहरु आकर्षित नहुनुको कारण शुल्क महँगो भएको अधिकांश लगानीकर्ताहरुको गुनासो थियो ।

चर्को शुल्ककै कारण पुरानै शैलीमा लगानीकर्ताले फारम भरेपछि नेपाल धितोपत्र बोर्डले शुल्क समायोजन गर्ने निर्णय गर्यो ।
अधिकतम दुई सय ५० रुपैयाँसम्म लिन पाउने व्यवस्थालार्इ संसोधन गर्दै सालाखाला सबैलाई एक सय रुपैयाँसम्म लिन पाउने निर्णय गर्यो । त्यसपछि निष्कासन भएको महुली लघुवित्तमा पनि आस्वाबाट फारम भर्ने भन्दा पुरानै शैलीमा भर्ने लगानीकर्ता दोहोरिए। त्यसको एकमात्र कारण आस्वा शुल्क नै थियो।
तर नेपाल धितो बोर्डले शुल्क समायोजन गर्ने नयाँ निर्णय नगर्दै बैंकहरुबीच प्रतिस्पर्धा बढ्दै गएर नि:शुल्क सेवा सुरु भएको छ। योसँगै बोर्डले साउन १ गतेदेखि आस्वा अनिवार्य गर्ने अर्को निर्णय गरेको छ ।
सेयरबजारमा लगानी गर्नेहरु बढेको, एउटा कम्पनीको आइपीओमा आवेदन गर्नेहरुको संख्या नै दुई लाख भन्दा बढी हुने गरेको र अर्बौ रुपैयाँ आवेदन बाफत संकलन हुने गरेको अवस्थामा आफ्नो बैंकबाट पैसा बाहिर नजाओस भन्ने रणनीतिमा बनाएर बैंकहरु आस्वा सेवा निशुल्क गर्नतर्फ लागेको देखिन्छ ।
अर्को साधारण सेयरमा आवेदन गर्दा आवेदकको रकम बैंकमा नै रहने हुँदा सो रकम समेत बैंकहरुले चलाउन सक्ने हुँदा उनीहरुले यो सेवा निशुल्क दिन थालेका छन । भने कतिपय बैंकहरुले आफ्नो ग्राहक संख्या बढाउनका लागि पनि आस्वा सेवा निशुल्क गर्न लागेका हुन ।