१७ वैशाख, काठमाडौं । सिभिल बैंकको सञ्चालक समितिबाट अध्यक्ष इच्छाराज तामाङ बाहिरिएका छन् । बाफियाले संसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तामाङले सिभिल बैंकको सञ्चालकबाट राजिनामा दिएका हुन् ।
तमाङले बैंक छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । साथै बैंक संचालक समितिले सृजना शाक्य (तामाङ)लाई संचालकमा नियुक्त गरेको छ ।
राष्ट्रपतिबाट वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि बाफियाले अयोग्य बनाएका बैंकरहरुले धमाधम बैंक छाड्ने क्रम चलेको हो । यसै शिलसिलामा सिभिल बैंकबाट इच्छाराज तामाङले सञ्चालक समिति छाडेका हुन् ।
बाफियाले बैंक तथा वित्तीय संस्थाका करिव तीन दर्जन सञ्चालकहरु अयोग्य बनाएको छ । बाफियाको प्रावधान अनुसार सांसद समेत रहेका माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेन्द्र प्रसाद महतो र एनसिसी बैकका सञ्चालक मोहनवहादुर बस्नेतले पनि बैंक छाड्नु पर्नेछ ।
यता प्रभु बैकं लिमिटेडको सञ्चालकको राजिनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको बैठकले वैशाख १४ गते कुसुम लामाको राजिनामा स्वीकृत गरेको हो ।
यस्तै गुराँश लाइफ इन्स्योरेन्सको अध्यक्षबाट मोती दुगडले राजिनामा दिएका छन्। सनराइज बैंकको अध्यक्षमा कायम रहन उनले इन्स्योरेन्स छोडेका हुन्। उनको स्थानमा बिवेक दुगड अध्यक्ष चयन भएका छन्।
इन्स्योरेन्सका सञ्चालकहरु ज्योती कुमार बेगानी र माल्चन्द दुगडले समेत राजिनामा दिएका छन्। इन्स्योरेन्सको नयाँ सञ्चालकमा ऋषीकुमार गडिया नियुक्त भएका छन्।