२०८३ साउन ९ शनिबार

कार्गो सेवा शुल्क एक हजार प्रतिशतसम्म बढेपछि त्रिभुवन विमानस्थलबाट आयात निर्यात ठप्प

ई आर्थिक    सोमबार, बैशाख ११ २०७४
12.4K
Shares
कार्गो सेवा शुल्क एक हजार प्रतिशतसम्म बढेपछि त्रिभुवन विमानस्थलबाट आयात निर्यात ठप्प

११ वैशाख, काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले मनपरी ढङ्गले कार्गो शुल्कमा वृद्धि गरेको भन्दै आयातनिर्यातसँग सम्बन्धित १४ ओटा सङ्गठनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आयात निर्यातका काम रोकेका छन् । आयात निर्यातसँग सम्बन्धित उद्योगी व्यवसायीका १२ वटा र मजदूरका २ वटा संगठनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने आयात निर्यात आइतबारदेखि अनिश्चितकालका लागि ठप्प पारेका हुन् ।

नेपाल हस्तकला महासङ्घ, नेपाल निर्यात परिषद्, नेपाल चेम्बर अफ कमर्श, पश्मिना उद्योग सङ्घ, नेपाल भन्सार एजेण्ट सङ्घ, नेपाल फ्रेट फरवार्ड एशोसिएशन, नेपाल ऊनी फोल्ड उत्पादक तथा निर्यातक सङ्घ, अन्तरराष्ट्रिय एयर एक्सप्रेस एशोसिएशन, नेपाल मजदूर भन्सार सङ्घ, नेपाल तयारी पोशाक उद्योग सङ्घ र अखिल नेपाल ढुवानी मजदूर सङ्घले आयात निर्यातका सबै काम रोकेका हुन् । आयात निर्यातका यी निजी सङ्गठनसँग कुनै पनि प्रकारको छलफल नगरी नेपाल पारवहन तथा व्यवस्थापन कम्पनी लिमिटेडले शुल्कमा चर्को रूपमा वृद्धि गरेको सम्बन्धित संस्थाहरूको आरोप छ ।

नेपाल पारवहन तथा व्यवस्थापन कम्पनीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनअनुरूप विमानस्थल दस्तुर शुल्क बढाएरै उठाउनुपर्ने भएकाले २०७४ वैशाख १० देखि लागू हुने गरी नयाँ दर रेटमा कार्गो सेवा प्रबन्ध दस्तुर शुल्क उठाउने व्यवस्था गरिएको हो । तर, व्यवसायीहरू भने यसबारे आफूहरूलाई पूर्व जानकारी नभएको बताउँछन् ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आयात निर्यात गरिने मालसामानको कार्गो प्रबन्ध सेवा दस्तुर आइतबारदेखि लागू हुने गरी बढाएको छ।

कम्पनीले आयात निर्यात हुने मालसामानलाई साधारण, बहुमूल्य, नाशवान, खतराजन्य, एक्सप्रेस कुरियर कार्गो र जीवित जनावर गरी ६ समूहमा वर्गीकरण गरेर मूल्य बढाएको छ। कम्पनीले विमानस्थल दस्तुर नियमावली २०६७ अनुसार कार्गोको दस्तुर बढाएको हो। व्यवसायीहरुको दवाबमा कम्पनीले यसअघि नियमावली कार्यान्वयन गर्न सकेको थिएन।

नेपालको निकासी पैठारी व्यापारमा निकासीमा उल्लेख्य प्रगति हुन नसकेको वर्तमान अवस्थामा प्रस्तुत शुल्क वृद्धिले दैनिक उपभोग्य सामानको मूल्यमा प्रभाव पर्ने नेपाल चेम्बर अफ कमर्शको ठहर छ । साथै, निर्यात व्यापार घटिरहेको अवस्थामा शुल्क वृद्धिले निकासी हुने वस्तुमा लागत वृद्धि हुन गई अन्तरराष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमता कमी आई व्यापारघाटा अझ बढ्ने अनुमान छ ।

उक्त शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा दूरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई पनि गम्भीर असर पर्ने भएकाले शुल्क वृद्धिसम्बन्धी निर्णय अविलम्ब फिर्ता लिन पनि चेम्बरले सरकारसँग माग गरेको छ । चेम्बरका अनुसार पहिले १ सय केजीसम्मको १ सय ५० रुपैयाँ र माथि जति भए पनि २ सय ८० रुपैयाँ शुल्क लाग्नेमा हाल त्यसमा १ हजार प्रतिशतसम्म बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij