१० वैशाख, काठमाडौं । सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घन्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र जेठमा गरी दुई चरणमा निर्वाचन गर्ने सहमति गरेको हो ।
संसद्मा विचाराधीन संशोधन विधेयक परिमार्जनसहित सात दिनभित्र पारित गर्ने सहमति दुई पक्षबीच भएको छ । संविधान संशोधन परिमार्जनसहित पारित गर्ने सत्तारुढ दलको आश्वासनसँगै मोर्चा आन्दोलनका कार्यक्रम स्थगित गरी निर्वाचनमा जान तयार भएको हो ।
तर, सहमति भएका विषयलाई सरकारले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा अघि बढाएपछि मात्र आन्दोलनका कार्यक्रम फिर्ता लिने राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बताए । सहमतिअनुसार पहिलो चरणमा ३१ वैशाखमा ३, ४ र ६ नम्बर प्रदेशमा र दोस्रो चरणमा १, २ र ७ नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भएको छ ।
तर, दोस्रो चरणको निर्वाचन गर्ने मिति र प्रदेशबारे सरकारले निर्वाचन आयोगसँगको छलफलपछि मात्रै निर्णय गर्नेछ । सरकारले दोस्रो चरणको निर्वाचनका लागि २१ देखि ३१ जेठसम्मको मिति तय गर्ने तयारी गरेको छ ।
‘पहिलो चरणमा ३१ वैशाखमा प्रदेश ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन गर्ने र दोस्रो चरणमा जेठको अन्तिम साता प्रदेश १, २, ५ र ७ मा निर्वाचन गर्ने सहमति भएको छ,’ छलफलमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले भने ।अाजकाे नयाँ पत्रिका दैनिकबाट