२३ चैत, काठमाडौं । नेपाल बैंकले ग्राहकलाई आधुनिक एवम् स्तरीय सेवा प्रदान गर्ने क्रममा एनबीएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा नै पहिलोपटक साझा बसबाट यात्रा गर्ने यात्रुका लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुविधा प्रदान गरेको हो ।
बैंक, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलोपटक ल्याइएको बैंकले जनाएको छ ।
यसमा ५० को मौज्दात हुनेछ । साझाको पछाडिको ढोकाबाट चढ्ने बित्तिकै डिभाइसमा कार्ड देखाउने र अगाडिको ढोकाबाट झर्ने बेलामा पनि डिभाइसमा कार्ड देखाएर झरेपछि दुरी अनुसारको भाडा काटिनेछ । यसलाई बेला बेलामा नवीकरण गर्नु नपर्ने भएकाले यो एटिएम भन्दा पनि झन्झट मुक्त छ ।
पैसा सकिएपछि मोबाइलको रिचार्ज गरेजस्तै गरी रिचार्ज गर्न सकिनेछ । कार्ड हराएमा भने अर्को कार्ड किन्नुपर्नेछ । यो प्रविधिबाट भाडा तिर्दा बढी भाडा नपर्ने भएकाले यात्रु ठगिने सम्भावना कम हुनेछ । विकसित देशमा लागू भएको यो प्रविधि नेपालमा पहिलोपटक भित्रिदा यात्रु खुसी भएका छन् ।