१७ चैत, काठमाडौं । लक्ष्मी बैंकले लिमिटेडले १ बराबर १(१ः१) को अनुपातमा हकप्रद सेयर वैशाख १ गतेदेखि खुल्ने भएको छ । बैंकको सेयरधनीका लागि प्रति सेयर एक सय अङ्कित दरको ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा बुधवार रू. ८ सय १० मा कारोबार भइरहेको बैंकको हकप्रद सेयर प्रतिकित्ता रू. १ सय अङ्कित दरमा जेठ ७ गतेसम्म खरीद गर्न पाइने छ ।
बैंकको चैत १७ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व रहने सेयरधनी हुनेले आवेदन दिन सक्नेछन् । सेयर खरीदका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, लक्ष्मी बैंक लिमिटेड हात्तीसार र काठमाडौंका शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, सिद्धार्थ क्यापिटल नारायणचौर, नक्सालबाट दरखास्त फाराम उपलब्ध हुने बैंकले प्रकाशित गरेको सूचना मार्फत जानकारी गराएको छ ।
हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ३१ करोड ८० लाख ६० हजार ६ सय पुग्नेछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पु¥याउन बैंकले आगामी आवमा पनि हकप्रद सेयर दिने भएको छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विविरण अनुसार बैंकको नाफा रू. ४० करोड ६३ लाख ९३ हजार पुगेको छ । सञ्चालन नाफा २१ प्रतिशतले र रू. ४ करोड ९० लाख खराब कर्जा उठाउन बैंक व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।